Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

रास्वपाको समानुपातिकबाट ५८ जना सांसद बन्ने

रास्वपाको समानुपातिकबाट ५८ जना सांसद बन्ने


  • 1.2K
    Shares

    रास्वपाको समानुपातिकबाट ५८ जना सांसद बन्ने

    काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।

    प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रकै अन्तिम परिणाम घोषणा भइसकेको छ भने समानुपातिकतर्फ ११० सिटका लागि मतगणना अन्तिम चरणमा पुगेको छ।

    पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिट जितेको छ। नेपाली कांग्रेस १८ सिट जितेर दोस्रो स्थानमा छ भने नेकपा एमालेले ९ सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८ सिट, श्रम संस्कृति पार्टीले ३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट र एक जना स्वतन्त्र सांसद विजयी भएका छन्।

    समानुपातिकतर्फ जारी मतगणना अनुसार रास्वपाले ५८ सिट, नेपाली कांग्रेसले १९, नेकपा एमालेले १७, नेकपाले ९, राप्रपाले ४ र श्रम संस्कृति पार्टीले ३ सिट प्राप्त गर्ने देखिएको छ।

    यसरी हेर्दा आगामी प्रतिनिधिसभामा रास्वपाको १८३ सिट हुनेछ। नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २६ सिट हुनेछ।

    त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीको १७, श्रम संस्कृति पार्टीको ६, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५ र स्वतन्त्र एक सांसद रहने छन्।

    संविधान अनुसार संघीय संसदमा राजनीतिक दलहरूले एक–तिहाइ महिला प्रतिनिधित्व गराउनुपर्छ। संविधानले ुसंघीय संसदु भन्ने शब्द प्रयोग गरेकाले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैमा जोडेर एक–तिहाइ महिला सहभागिता गराउनुपर्ने बाध्यकारी व्यवस्था छ।

    यस अनुसार रास्वपा, कांग्रेस, एमाले लगायत दलहरूले समानुपातिकतर्फ कति जना महिला सांसद पठाउनुपर्ने हुन्छ त?

    अहिलेको राष्ट्रियसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व शून्य छ। यस्तो अवस्थामा रास्वपाले प्रतिनिधिसभामै ३३ प्रतिशत महिला सांसद पुर्‍याउनुपर्छ।

    अब प्रतिनिधिसभामा रास्वपाको १८३ जना सांसद रहने भएकाले त्यसको ३३ प्रतिशतका दरले ६१ जना महिला निर्वाचित गरेर पठाउनुपर्ने हुन्छ। अहिले रास्वपाबाट प्रत्यक्षतर्फ १३ जना महिला सांसद निर्वाचित भएका छन्। त्यसैले रास्वपाले समानुपातिकबाट ४८ जना महिलाको नाम दिनुपर्ने हुन्छ।

    रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा ६१ जना महिला छन्। तीमध्ये ४८ जना महिला सांसद बन्ने छन्।

    रास्वपाको बन्दसूचीमा पुरूषहरूको संख्या ४७ छ। त्यसमध्ये विभिन्न क्लस्टरका १० जना पुरूषलाई रास्वपाले सांसद बनाउन सक्छ।

    त्यस्तै, नेपाली कांग्रेसले यसपटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ र समानुपातिक १९ गरी ३७ सिट जित्ने देखिएको छ। कांग्रेसबाट प्रत्यक्षतर्फ एक जना महिला निर्वाचित भएकी छन् भने राष्ट्रियसभामा उसका ५ जना महिला सांसद छन्। त्यसैले कांग्रेसले समानुपातिकतर्फ १९ मध्ये १४ जना महिला पठाउनुपर्छ।

    नेकपा एमालेले पनि प्रत्यक्षतर्फ ९ र समानुपातिकमा १७ गरी कुल २६ सिट प्राप्त गर्ने देखिएको छ। राष्ट्रियसभामा एमालेका ७ महिला छन्। त्यसैले उसले समानुपातिकमा १७ मध्ये कम्तिमा ५ जना महिला पठाउनुपर्छ।

    प्रत्यक्षमा ८ सिट जितेको नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक ९ सिट जित्ने देखिएको छ। राष्ट्रियसभामा नेकपाका ८ जना महिला छन्। त्यसैले नेकपाले कम्तिमा ७ जना महिला सहभागी गराउनुपर्नेछ।

    श्रम संस्कृति पार्टी र राप्रपाको पनि राष्ट्रियसभामा प्रतिनिधित्व छैन। श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३ सिट जित्ने देखिएको छ। त्यसमध्ये २ जना महिला पठाउनुपर्छ।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ४ सिट समानुपातिकमा प्राप्त गर्ने देखिएको छ। उसले पनि एक जना महिला पठाउनुपर्छ।

    मतगणना अन्तिम चरणमा पुगिसकेकाले यो तथ्यांकमा ठूलो हेरफेर हुने अवस्था छैन। सामान्य परिवर्तन भने हुन सक्छ। दलहरूले एक–तिहाइभन्दा बढी महिलालाई सांसद बनाउन पाउँछन्। विभिन्न जातजातिको क्लस्टर भने पूरा गर्नुपर्ने हुन्छ।

    प्रकाशित मिति :फाल्गुण २६ २०८२ मंगलवार - १७:४६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij