२०८२ माघ ९ गते शुक्रवार
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले ७५३ वटै स्थानीय तहलाई पत्र लेख्दै एकहप्ते सामुदायिक विद्यालय बन्द कार्यक्रम सञ्चालनका लागि आवश्यक सहयोग तथा सहजीकरण गरिदिन अनुरोध गरेको छ ।
गएको सोमबार पत्र लेख्दै समितिले भदौ १२ गते आइतबारदेखि १८ गतेसम्म विद्यालय बन्द गरिदिन महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख तथा अध्यक्षलाई अनुराेध गरेको हो ।
अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तिनाथ योगी र आन्दोलन परिचालन समिति संयोजक बब्बन कुमार मिश्रद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नेपाल विद्यालय कर्मचारी परिषद्को मिति २०७९/४/२० गतेको राष्ट्रिय समितिको निर्णय बमोजिम आन्दोलनका कार्यक्रम निरन्तर भएको जानकारी गराउँदै मिति २०७९/५/४ गते पद्मोदय मा.वि.काठमाडौंमा बसेको संयुक्त बैठकको निर्णय अनुसार आन्दोलनका कार्यक्रमको रूपरेखा तपशिल बमोजिम भएको हुँदा उक्त कार्यक्रमको बुँदा नं.४ अनुसारको एकहप्ते सामुदायिक विद्यालय बन्द कार्यक्रम सञ्चालनका लागि आवश्यक सहयोग तथा सहजीकरण गरिदिनु हुन सम्पूर्ण पालिका प्रमुख अध्यक्ष ज्यूहरूलाई अनुरोध गरिन्छ ।’
बुँदा नं. ४ मा यही भदौ १२ गते आइतबारदेखि १८ गतेसम्म सामुदायिक विद्यालय बन्द गर्ने उल्लेख छ । सरकारसमक्ष विभिन्न माग राख्दै परिषद् भदौ १ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij