२०८२ भाद्र ४ गते बुधवार
रामेछाप नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले नगरका जनप्रतिनिधीलाई मागपत्र बुझाएका छन् ।
आफूहरूले अतिन्यून पारिश्रमिकमा काम गर्नु परेको भन्दै सो पारिश्रमिकमा हेरफेर गरिदिन नवनिर्वाचित जनप्रतिनिधीलाई आग्रह गरेका हुन् ।
इसीडी शिक्षक र विद्यालय कर्मचारीले उचित पारिश्रमिक दिन नसके कार्यपालिकाको बैठक बसेर दरबन्दी नै खारेज गर्नसमेत आग्रह गरेका छन् ।
श्री गौरीशंकर माविका लेखापाल रमेश तामाङले अतिन्यून पारिश्रमिकका कारण विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्तालाई घरव्यवहार चलाउन, छोराछोरी पढाउन र बिरामी हुँदा उपचार खर्चको जोहो गर्न निकै समस्या भएको बताए ।
सरकारले अन्य राष्ट्रसेवक कर्मचारीको तलब साउन १ गतेदेखि लागू हुने गरी १५ प्रतिशत बढाएको तर आफूहरू अतिन्यून पारिश्रमिकमा काम गर्नुपरेको लेखापाल तामाङले गुनासो गरे ।
रामेछाप नगरपालिकामा विद्यालय सहयोगी र बालविकास सहजकर्ताको तलब मासिक १५ हजार रूपैयाँ छ । लेखापालको तलब मासिक १८ हजार रूपैयाँ छ । (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij