२०८२ माघ ९ गते शुक्रवार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शिक्षकले शौक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी विद्यालयमा नियुक्ति लिएको जनाएको छ ।
पाँचथर जिल्लाको तुम्वेबा गाउँपालिका, वडा नं ४ बलेनमा रहेको धुवाखोला आधारभूत विद्यालयका प्रा.वि. शिक्षक (करार) बिरजु कुमार गक्षदारले शौक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको जनाएको हो ।
शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा गक्षदारले प्रा.वि. तृतीय श्रेणी अस्थाई करार शिक्षक पदमा दरखास्तको लागि धुवाखोला आधारभूत विद्यालयमा पिसीएल तहको शौक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्तिसमेत लिई आफूलाई लाभ हुने बदनियत राखी भ्रष्टाचार गरेको प्रवक्त्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
साथै बिरजु कुमार गक्षदार उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६(१) बमोजिम समेतको सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम वैशाख २३ गते बिशेष अदालत, काठमाडौंमा आरोपपत्र समेत दायर गरेको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij