Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

नयाँ शैक्षिक सत्र सुरु, चुनावले विद्यार्थी भर्ना अभियान प्रभावित

नयाँ शैक्षिक सत्र सुरु, चुनावले विद्यार्थी भर्ना अभियान प्रभावित


  • 3.6K
    Shares

    नयाँ शैक्षिक सत्र सुरु, चुनावले विद्यार्थी भर्ना अभियान प्रभावित

    निर्वाचनको घरदैलो र नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना अभियान सँगसँगै सुरु भएको छ । एकातिर राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवार मत माग्न दैडधुप गरिरहेका छन् भने अर्कोतिर शिक्षकहरू विद्यार्थीलाई भर्ना गराउन घरदैलोमा चाहारिरहेका छन् ।

    कोरोनाका कारण २ वर्षदेखि विद्यालय शिक्षा प्रभावित हुँदै आएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरी भौतिक रूपमै विद्यालयको वार्षिक परीक्षा सकाएर अहिले बालबालिका घरमै छन् । नयाँ वर्षसँग सुरु हुने नयाँ शैक्षिक सत्र कोरोनाका कारण पठनपाठन समयमा नसकिँदा एक महिना ढिला भर्ना अभियान सुरु भएको छ ।

    अघिल्ला शैक्षिक सत्रमा भन्दा यो वर्ष केही दिन ढिला गरी भर्ना अभियान सुरु गरिएको व्यास नगरपालिका–१२ कमलबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीले बताए । उनले भने, ‘ढिला गरी भर्ना अभियान सुरु भएको छ । यही समयमा स्थानीय निर्वाचन पनि भएको हुँदा प्रभावकारी ढंगले भर्ना अभियान सञ्चालन गर्न समस्या आएको छ ।’

    ‘झन्डासहित चुनाव प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता कार्यकर्ता देखेपछि भर्ना अभियानमा हिँडेका शिक्षक शिक्षिकाले बाटो नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिताका कारण राजनीतिक दलका प्रचारप्रसार समूह देखेपछि आफैं तर्किनुपर्ने अवस्था छ । यो अवस्थामा भर्ना अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने चुनौती थपिएको छ ।’

    विद्यालयबाट एक ठाउँमा जान निस्किए पनि त्यस ठाउँमा पहिले नै राजनीतिक दलहरू प्रचारप्रसार गरिरहेका छन् भने ठाउँ बदली अर्कै ठाउँमा भर्ना अभियान चलाउन जाने शिक्षक बताउँछन् । भर्ना अभियानमा खटिएका अन्य शिक्षकलाई पनि राजनीतिक दलको घरदैलो भएको टोलमा नजान भनिएको विद्यालयले जनाएको छ ।

    चुनावी कार्यक्रमले अप्रत्यक्ष रुपमा भर्ना अभियानलाई असर गरिरहेको भानु नगरपालिका–१३ ठूलोढुंगास्थित अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक शैलेन्द्र शाहले बताए । ‘परीक्षा सकिएर नतिजा सार्वजनिक गरिसकियो । वैशाख १५ बाट भर्ना अभियान सुरु गरेका छौं,’ उनले भने, ‘शिक्षक भर्ना अभियानका लागि घरदैलो गर्दैगर्दा केही विद्यार्थीका अभिभावक चुनाव प्रचारप्रसारमा हिँडेको हुँदा भेटघाट हुन सकेको छैन ।’ विद्यालयमा आकर्षित गराउन दक्ष शिक्षकद्वारा पठनपाठन, विद्यार्थीलाई दिवा खाजा सेवा र आईसीटी शिक्षाको पनि तयारी गरिएको उनले बताए ।

    नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी संख्या बढाउने लक्ष्यसाथ भर्ना अभियान चलाएका विद्यालयले अभियानको क्रममा अधिकांश विद्यार्थीका अभिभावकसँग भेटघाट गर्न पाएका छैनन् । ऋषिङ गाउँपालिका–३ दुबुङस्थित शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक हर्कबहादुर थापाले विद्यालयले पहिलेका वर्ष जसरी भर्ना अभियान सञ्चालन नगरेको बताए । ‘कोरोना संक्रमण हुनुभन्दा अगाडिका वर्षमा घरघरमा शिक्षक जानुहुन्थ्यो र विद्यालयको विशेषता, पठनपाठन हुने विषयलाई विस्तारमा अभिभावकलाई बुझाएर आउनुहुन्थ्यो र त्यही आधारमा विद्यार्थी भर्ना हुन आउँथ्यो,’ उनले भने, ‘अहिले टोलटोलमा मात्र अभियान सञ्चालन गरेका छौं ।’

    यस्तै, नयाँ शैक्षिक सत्र सुरु भएसँगै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक भर्ना अभियान लिएर घरघरमा आउने तर यसपालि भर्ना अभियानभन्दा चुनाव प्रचारप्रसारमा हिँड्ने धेरै देखेको व्यास–१ हाईस्कुलटारकी पूजा थापाले बताइन् । ‘दुई वर्ष अगाडि दिनमा एक दुईवटा विद्यालयबाट पर्ची लिएर आउँथे,’ उनले भनिन्, ‘अहिले भने केही देखिएको छैन, बरु राजनीतिक दलका झन्डा लिएर हिँड्ने धेरै देखिएका छन् ।’

    नजिकिएको स्थानीय निर्वाचनको माहोल गर्मिएसँगै विद्यालय र भर्ना अभियानलाई प्रत्यक्ष असर पारेको उनको बुझाइ छ । ‘ठाउँ सानो राजनीतिक दल धेरै छन्, एउटा टोलमा फलानो राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनाव प्रचारप्रसारमा हिँडेछन् भने अर्को टोलमा अर्को राजनीतिक दल देखा पर्छन्,’ उनले भनिन्, ‘राजनीतिक दलको प्रचारप्रसार भएको ठाउँमा भर्ना अभियान लिएर जान पनि नमिल्ने होला ।’

    जिल्लाका १० वटै पालिकाले ‘सबै बालबलिकालाई विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नारासाथ भर्ना अभियान सञ्चालन गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षण गर्न विद्यालयमा शैक्षिक गुणस्तर, शिक्षक हुन सरकारले तोकेअनुसारको मापदण्ड पार गरी आएका अनुभवी शिक्षक, प्राविधिक शिक्षा, विज्ञान प्रयोगशाला, आईसीटीमैत्री विद्यालय, पुस्तकालय, आवश्यक शैक्षिक सामग्री व्यवस्थापनमा लागिपरेको भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले बताए ।

    जिल्लामा ४ सय ४१ सामुदायिक र १ सय ३४ संस्थागत विद्यालय छन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको अनुसार १३ हजार ४ सय ३७ विद्यार्थी संस्थागत र ६१ हजार सामुदायिकमा गरी ८४ हजार ४ सय ९१ जना बालबालिकाले विद्यालयमा भर्ना लिएका छन् । (कान्तिपुर) 

    प्रकाशित मिति :बैशाख २५ २०७९ आइतवार - १२:१२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij