शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन हजार शिक्षकको अस्थायी दरबन्दीको प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले सञ्चारकर्मीसँग बोल्दै अंग्रेजी, विज्ञान र गणित शिक्षक अभाव भएको र विषयगत शिक्षक नहुँदा समस्या परेको बताए ।
आगामी आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम र बजेटका लागि आज अर्थ मन्त्रालयसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्ता हुँदैछ । यसको पूर्वसन्ध्यामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज शिक्षा पत्रकारहरुसँग शिक्षाका समसामयिक विषयका बारेमा छलफल गरेका छन् ।
त्यस्तै उनले अङ्ग्रेजी, विज्ञान र गणित शिक्षक अभाव भएको उल्लेख गर्दै विषयगत शिक्षक नहुँदा समस्या परेको गुनासो गरे । “शिक्षक सेवा आयोगले योग्य शिक्षक छनोट गरिरहेको छ” उनले थपे, “नयाँ शिक्षक नआउञ्जेलका लागि शिक्षक व्यवस्थापन गर्न तीन हजार शिक्षकको प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ ।”
मन्त्री पौडेलले आगामी वर्षको बजेट कार्यक्रममार्फत शिक्षामा तीन प्रकारको सुधार गर्न खोजिएको जानकारी दिए । उनले भने, “कानुनी सुधार, शिक्षण सिकाइमा सुधार र पूर्वाधारमा सुधार गर्न चाहेका छौँ ।”