२०८२ भाद्र ५ गते बिहिवार
विद्यालयहरुलाई स्थानीय तहको चुनावअगाडि नै नयाँ शैक्षिक सत्रको लागि आवश्यक तयारी सक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले वैशाखभित्रै सबै तयारी सकेर जेठको पहिलो साताबाट पठनपाठन गराउन विद्यालयलाई निर्देशन दिइएको बताए।
उनकाअनुसार अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षा र नयाँ विद्यार्थी भर्नाको कार्यक्रम सँगसँगै चल्नेछ। परीक्षाकै समयमा विद्यालयले कक्षा एकमा विद्यार्थी भर्ना लिन सुरु गर्नेछन्।
‘एसईई र स्थानीय तहले लिने कक्षा ८ को परीक्षा वैशाखमै छ। विद्यालयले लिने अन्य कक्षाको परीक्षा पनि वैशाखमै लिन भनेका छौँ। यसको मतलब वैशाखको १५ देखि २० गतेसम्म विद्यालयहरु परीक्षाको कार्यमै व्यस्त हुन्छन्,’ शर्माले भने, ‘परीक्षा लिइसकेपछि नतिजा प्रकाशन गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने कार्य हुँदै जान्छ। जेठको पहिलो साताबाट नयाँ शैक्षिकसत्रको पढाइ सुरु हुन्छ।’
मतदान केन्द्र पर्ने केही विद्यालयमा भने करिब एक हप्ता पठनपाठन ठप्प हुनेछ। तर, शिक्षक पनि नखटिएको र मतदान केन्द्र पनि नपरेको विद्यालयमा चुनावको दिनबाहेक अन्य दिन विद्यालय बन्द नहुने शर्माले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij