२०८२ मंसिर ६ गते शनिवार
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपालबाहेक सबैसँग चुनावी तालमेल हुन सक्छ बताएका छन्।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले माओवादी र समाजवादीसँग चुनावी तालमेल नगरे पनि उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्ध गर्ने दाबी गरेका छन्।
‘प्रचण्ड र माधवकुमार नेपाल बाहेकका अरू सबैलाई एमालेले स्वीकार्छ,’ पोखरेलले भने, ‘प्रचण्ड र माधवरहित वाम एकताको पक्षमा एमाले छ।’
कम्युनिष्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्न मद्दत गर्ने प्रचण्ड र माधव नेपालहरू कम्युनिष्ट हुन नसक्ने उनले जिकिर गरेका छन्।
अन्य दलहरूसँग तालमेलको सम्भावना औंल्याएका उनले बाहिर प्रचार गरिए जस्तै गरी राजावादीसंग गठबन्धन गर्न खोजेको भन्ने कुरा सही नभएको बताएका छन्।
एमालेको गठबन्धन कसैसँग नहुने बरू तालमेल हुन सक्ने उनले तर्क गरेका छन्।गठबन्धन गरी पहिले जस्तो अर्काको चुनाव चिन्हमा लड्न भन्ने कुरा हुँदैन,’ उनले भने, ‘त्यस्तो गठबन्धनको प्रयोग भइसक्यो र त्यो असफल काम रहेछ भन्ने पुष्टि भइसक्यो।’
त्यस्तै, उनले चुनावका कारण मुलुकमा दुई दलीय ध्रुवीकरण भइसकेको बताएका छन्।मुलुकमा कांग्रेस र कम्युनिष्ट गरि दुई दलमात्रै बाँकी रहेको दाबी गरेका उनले कि कांग्रेससँग वा एमालेसँग ध्रुविकृत हुनुको विकल्प नरहेको दाबी गरेका छन्।
कांग्रेस बुर्जुवाको प्रतिनिधित्व गर्ने हुँदा कम्युनिष्ट हुनुको विकल्प नरहेको उनले बताएका छन्। चुनावमार्फत् जनताले आफ्ना प्रतिनिधि छान्न पाउनका लागि हुने भन्दै उनले गठबन्धन गर्दा सबै ठाउँमा एउटै आउने उद्धेश्य राख्नु लोकतन्त्रको बर्खिलाप हुने महासचिव पोखरेलको भनाइ थियो।
‘आफ्ना प्रतिनिधि छान्न नपाउने गरी गठबन्धन हुन्छ भने त्यो कसरी लोकतान्त्रिक पद्धति मान्न सकिन्छ?,’ उनले भने, ‘त्यसैले गठबन्धन लोकतन्त्रको बर्खिलाप हो।’त्यस्तै, उनले बिना सिद्धान्त, बिना योजना सत्ता गठबन्धन बनेको भन्दै गठबन्धनको औचित्य नभएको तर्क गरेका छन्।
‘यो गठबन्धनको उद्धेश्य एमाले लक्षितमात्रै हो,’ उनले भने, ‘यो अपवित्र गठबन्धन धेरै टिक्दैन।’स्थानीय तहको निर्वाचनको माहोल एमालेको पक्षमा पार्नका लागि खटिन कार्यकर्तालाई उनले आग्रह गरेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij