२०८२ भाद्र २ गते सोमवार
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले पालिकामा धर्ना दिएका छन् । कर्मचारीले पालिकाको गेट अगाडि सरकारले बढाएको तलब पाउनुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।
केन्द्र सरकारले ८ हजार र स्थानीय सरकारबाट ७ हजार गरी १५ हजार रुपैयाँ तलब दिने निर्णय कार्यान्वयन नगरेपछि बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीले धर्ना दिएको शिक्षक तथा संघर्ष समिति संयोजक गोमा दाहालले बताइन् ।
संघीय सरकारले तोकेको न्युनतम परिश्रमिक कायम गर, बालविकास शिक्षक र विद्यालय कर्मचारीको मासिक १५ हजार रुपैयाँ कायम गर, श्रम शोषण गर्न पाइँदैन, कार्यपालिका सदस्य कहाँ छन्, बालशिक्षक, कर्मचारी यहाँ छन् लगायत प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका थिए ।
पालिकाका कार्यवाहक अध्यक्ष पुनमकुमारी मेहतासँग यस विषयमा बुझ्दा तत्काल केही गर्न नसकिने बताइन् । यसबारे बैठक बसेर छलफल गरिने उनको भनाइ छ । शिक्षा मन्त्रालयले भोक्राहा नरसिंह गाउँपालिकालाई प्रस्टीकरण सोध्ने तयारी गरेको छ।
५९ जना बालविकास तथा विद्यालय शिक्षक, कर्मचारीले धर्ना दिएका हुन् । माग पूरा नहुन्जेल शिक्षक, कर्मचारीले धर्ना तथा प्रदर्शनका कार्यक्रम जारी राख्ने शिक्षिका सीता मेहताले बताइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij