२०८२ भाद्र २ गते सोमवार
सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु,
बर्तमान नेपालको राजनितिको विषम परिस्थितिमा नेपालको प्रधानमन्त्री हुँदा तपाइँलाई यसै पत्र मार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहान्छु । हजुरको पाँचौं पटकको प्रधानमन्त्रीको कार्यकाल बिगतका ४ पटकको कार्यकाल भन्दा पृथक र विशेष बनोस् भन्ने चाहान्छु । हजुरको कार्यकाल बिशेष तथा सफल ,एतिहासिक र अविस्मरणिय बनाउँन तपाइँबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिबर्तन ल्याउन पहलकदमि चाल्न जरुरी देखिन्छ ।
नेपालको ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनतालाई शिक्षा र स्वास्थ्य प्रदान गर्ने शिक्षक तथा स्वास्थ्यकर्मीहरु नै समाज परिवर्तनका सम्बाहक र स्वच्छ र दक्ष जनशक्ति उत्पादनका मुल जनशक्ति नै शिक्षकहरु तथा स्वास्थ्यकर्मीहरु नै हुन । राज्यले अबलम्बन गरेका निति तथा योजना र गरेका राम्रा र नराम्रा कामको प्रचार प्रसार गर्ने दोस्रो पत्रकार शिक्षकहरु नै हुन त्यसैले शिक्षालाई प्राथमिकता दिदै स्वास्थ्यलाई सङ्सँगै बढाउन जरुरी देखिन्छ ।
बिगतमा केपी ओलि सरकारबाट शिक्षकहरुलाई आत्मा हत्या गर्न नसकेर शिक्षण पेशा रोजेका अनि शिक्षा मन्त्री तथा अन्य शिक्षा क्षेत्रका सरोकारवालाको नजरमा शिक्षकहरुलाई जुका, निमुखा जस्ता शब्दावलीहरुले सम्बोधन गरिदा अपमानित भएको महसुस भैरहेको छ । एक अपमानित शिक्षकबाट गुणस्तरीय शिक्षा खोज्नु बालुवामा घर बनाउनु जस्तै हुन जाने नै छ ।
प्रधानमन्त्रीज्यु नेपाली काँग्रेस सत्तामा हुँदा स्वर्गीय कृष्णप्रसाद भट्टराई र पुर्ब शिक्षा मन्त्री गोपालमान श्रेष्ठका साथै अर्थ मन्त्री रामशरण महतको शिक्षा क्षेत्रमा पुर्याएको योगदान हामिले बुझेकै छौ । साथै नेपाली काँग्रेस सत्ता बाहिर हुँदा शिक्षा क्षेत्र तथा अन्य क्षेत्रको विषयमा नेपाली काँग्रेसमा गठित शिक्षा विभाग लगाएत अन्य विभागहरुले अन्यायमा परिरहेको शिक्षा क्षेत्र र शिक्षकहरुको पक्षमा वकालत गरिरहेको कुरा विभिन्न विभागबाट निस्केका विज्ञप्तिहरुका प्रमाणहरु सामाजिक संजालमा सुरक्षित नै छन । समृद्ध नेपाल सुखी नेपालीको नारा विगतको सरकारले नारामै सिमित राखेको हामी आम शिक्षकहरुलाई लागेकै छ । जबसम्म राज्यले शिक्षामा लगानी गर्दैन र राजनैतिक दलको प्राथमिकतामा शिक्षा पर्दैन त्यो आम जनताको लागि नभई नेतृत्वले आफ्नो स्वार्थ सिद्धिको लागि भेला गरेको स्वार्थी झुन्ड मात्र हुने नै छ ।
त्यसैले बिगतका सरकारहरुले गरेका गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्नुको विकल्प देखिदैन । पाँचौं पटकको प्रधानमन्त्री र नेपाली काँग्रेसको सभापतिको रुपमा तपाइले गर्नु पर्ने न्युनतम कार्यहरू गर्न सकेमा हजुर इतिहासकै सफल प्रधानमन्त्री र आजिबन पार्टी सभापति बन्न कुनै रोकावट आउने छैन भन्ने कुरा व्यक्त गर्न चहान्छु ।
१. भ्रष्टाचार मुद्दामा मुछिएका बिबादास्पद ब्यक्तिहरुलाइ आफु देखी टाढै राखी भ्रष्टाचार शुन्य बनाउन कडा कदम चाल्न अनुरोध गर्दछु ।
२. विगतको सरकारले ल्याएको बजेट परिमार्जन गरि नेपाल सरकारको ढुकुटीबाट तलब खाने राष्ट्रसेवक कर्मचारी भित्र शिक्षा शिक्षकहरु तथा बिद्यालय कर्मचारीहरुलाई समावेश गरि बिमा र पर्यटन काजको सुबिधा उपलब्ध बनाउनुहोस ।
३. बजेटमा परिमार्जन गरि सरकारी कार्यालय तथा जनप्रतिनिधिहरुका लागी खरिद गरिने बिलासिताका सामाग्रीमा बन्देज गरि मर्मत सम्भार गर्दै पुनःप्रयोग र न्युनतम प्रयोगमा प्राथमिकता दिदै शिक्षा क्षेत्रमा कम्तिमा २०% बजेट बिनियोजन गर्न अनुरोध गर्दछु ।
४. अहिलेको विषम परिस्थिति कोरोना महामारीमा बैकल्पिक शिक्षण सिकाइका लागि पर्याप्त बजेट तर्जुमा गर्दै महाबिर पुनको क्षमतालाई प्रयोगमा ल्याउन अनुरोध गर्दछु ।
४. बाल विकस शिक्षक र विद्यालय कर्मचारीको न्युनतम पारिश्रमिक केन्द्रिय सरकारबाटै विनियोजन गर्न अनुरोध गर्दछु ।
५. राहत शिक्षक तथा साविक उमावि शिक्षकहरु लगाएत १८÷१९ प्रकृतिका शिक्षकहरुलाई एकै प्रकृतिको बनाउन पहल गर्न अनुरोध गर्दछु ।
६. नेपाल सरकारले विगतमा नेपाल शिक्षक महासङ्घ सँग गरेको ३० बुँदे सहमति हुबहु कार्यान्वयनमा ल्याउन अनुरोध गर्दछु ।
७. शिक्षक सेवा आयोगलाई संवैधानिक आयोगमा रुपान्तरण गर्नका लागी आवश्यक पहल गर्न अनुरोध गर्दछु ।
८. गणतन्त्र नेपालमा अझै पनि पञ्चायत कालिक शिक्षा ऐन २०२८ लागु भैरहेको हुँदा नयाँ संघीय शिक्षा ऐन यथाशिघ्र जारी गर्न अनुरोध गर्दछु ।
९. नेपाल आयल निगम र विद्युत प्राधिकरणमा चरम समस्या भएको हुँदा त्याहाको समस्या समाधानको लागी शिघ्र पहल कदमी लिन अनुरोध गर्दछु ।
१०. कुलमान घिसिङ्ग, डा.गोबिन्द केसि, र भिम उपाध्यायहरु जस्ता ब्यक्तिहरुको पहिचान गरि योग्यता र क्षमता उपयोग गर्न कुनै न कुनै किसिमको जिम्मेवारी प्रदान गर्न अनुरोध गर्दछु ।
११. आफ्ना सल्लाहकारको सल्लाहले कतै आफैलाई त मस्तिष्क बिहिन बनाएको छैन होसियार हुदै आफ्ना क्रियाकलापले सुचना तथा सञ्चारका माध्यममा जनताको प्रतिक्रिया बुझ्न अनुरोध गर्दछु ।
१२. नेपाल कृषिप्रधान देश भएको हुँदा वास्तविक कृषक पहिचान गर्न अनुरोध गर्दछु ।
१३. सार्वजनिक पद धारण गरेका र राजनैतिक नियुक्ति पाएका सबैको आम्दानीको श्रोत खोज्दै सम्पत्ति शुद्धीकरणमा पहल चाल्न अनुरोध गर्दछु ।
शिक्षालाई प्राथमिकतामा राख्दै त्यसमा रहेका जनशक्तिहरुको आत्मबल बढाउन राज्यले एकै प्रकारको शिक्षक संबैधानिक शिक्षक आयोगबाट नियुक्त गर्ने व्यवस्थाको अबलम्बन गर्न आवश्यक देखिन्छ । हामी शिक्षक तपाइको पाँचौं पटकको प्रधानमन्त्रीको कार्यकालमा न्युनतम माथिका कुरा लागु भएको हेर्न चाहान्छौ ।
अन्यथा विगतको केपी ओलिको कम्युनिस्ट सरकार र अहिलेको तपाइको नेतृत्वको सरकारमा कुनै फरक रहने छैन र हामी शिक्षक स्वयम् यो सरकारको गलत क्रियाकलापको पक्षपोषण नगरी विरोध गर्न बाध्य हुने नै छौ । फेरि पनि पाँचौं पटकको प्रधानमन्त्रीको कार्यकालको पुर्ण सफलताको कामना गर्दै बिदा हुन्छु ।
जय शिक्षक !
जय नेपाल !
अनन्त राज पन्त
कर्णाली प्रदेश कार्यसमिति सदस्य
नेपाल शिक्षक सघ
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij