२०८३ कार्तिक ११ गते बुधवार
काठमाडौं । इजरायलमा जारी निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले अग्रता लिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार २५।२ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी एक्लै ३२ सिटमा अगाडि छ । नेतान्याहुको गठबन्धन दलहरू समेतलाई जोड्दा ६३ सिटमा अग्रता देखिन्छ ।
यसैगरी विपक्षी नेता गादी आइजेनकोटको गठबन्धन दल ४९ सिटमा अगाडि छन् । त्यस्तै, अरब पार्टीहरू ८ सिटमा अगाडि छन् । यी प्रारम्भिक रुझान मात्र भएकाले अन्तिम मतपरिणाममा सिट संख्या तलमाथि हुनसक्ने अनुमान छ ।
नेतान्याहुले भने– बलियो दक्षिणपन्थी सरकार बनाउनुपर्छ ।
प्रधानमन्त्री नेतान्याहुले आफ्नो लिकुड पार्टी निर्वाचनमा सबैभन्दा ठूलो दलका रूपमा अगाडि आएको दाबी गरेका छन् । मतगणनाको प्रारम्भिक रुझान सार्वजनिक भएपछि पार्टी कार्यालय पुगेका नेतान्याहुले भनेका छन्, ‘कुरा स्पष्ट छ । लिकुड इजरायलको सबैभन्दा ठूलो पार्टी हो ।’
उनले एक्जिट पोलका अनुमानमा भर नपरी वास्तविक मतपरिणाम कुर्नुपर्ने पनि बताएका छन् ।
उनले निर्वाचन प्रचारका क्रममा केही सञ्चारमाध्यमले लिकुडले १८–१९ सिट मात्रै जित्ने अनुमान गरेको भन्दै आलोचना गरे । ती अनुमानले मतदातालाई मतदानबाट निरुत्साहित गर्न खोजेको उनको आरोप थियो ।
नेतान्याहुले बलियो दक्षिणपन्थी सरकार गठन गर्नुपर्नेमा जोड दिए । इजरायलविरोधी अरब पार्टीहरूको समर्थनमा चल्ने सरकार बनाउनु गलत हुने उनको भनाइ थियो ।
उनले अरब पार्टीहरूमाथि इजरायलको अस्तित्वको विरोध गरेको, हमासलाई परोपकारी संगठनका रूपमा प्रस्तुत गरेको र इजरायली सैनिकलाई युद्ध अपराधी भनेको आरोप पनि लगाए ।
इजरायलमा सोमबार भएको आम निर्वाचनपछिका प्रारम्भिक एक्जिट पोलले बेन्जामिन नेतान्याहुको गठबन्धन र गादी आइजेन्कोट नेतृत्वको विपक्षी गठबन्धनले स्पष्ट बहुमत नपाउने सम्भावना देखाइएको छ ।
इजरायली समाचार संस्था कान ११ र च्यानल १३ ले सार्वजनिक गरेका पछिल्ला एक्जिट पोलअनुसार दुवै गठबन्धनले ५१–५१ सिट जित्ने अनुमान गरिएको छ ।
च्यानल १२ को संशोधित एक्जिट पोलमा भने नेतान्याहुको गठबन्धनले ५२ र आइजेन्कोट नेतृत्वको गठबन्धनले ५० सिट जित्ने अनुमान छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij