२०८३ कार्तिक ११ गते बुधवार
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार बस्ती डुबानमा परेपछि स्थानीय बासिन्दा विस्थापित भएका छन्। बाढीले घर डुबाएपछि प्रभावित परिवारहरू अहिले घर छाडेर भुइँथानमा अस्थायी टेन्टमा बसिरहेका छन्।
स्थानीयका अनुसार शान्ति बजारमा करिब ५३ देखि ६० घर बाढीको डुबानमा परेका छन्। बाढीका कारण घरमा बस्न नसक्ने अवस्था भएपछि स्थानीयहरू सुरक्षित स्थानमा सरेका हुन् । अहिले भुइँथानमा २७ वटा टेन्ट राखिएका छन्, जहाँ २७ परिवारले आश्रय लिइरहेका छन्।
बाढीपीडित इन्द्रबहादुर आले मगरका अनुसार असोज २५ गते आएको बाढीपछि आफूहरू विस्थापित भएका उनले बताए । नेपाल रेडक्रस सोसाइटीले असोज २७ गतेतिर टेन्ट उपलब्ध गराएपछि प्रभावित परिवारले अस्थायी बसोबासको व्यवस्था गरेका छन्।
‘शान्ति बजारका करिब ६० घर डुबानमा परेका छन्। अहिले हामी भुइँथानमा टेन्टमा बसिरहेका छौँ,’ उनले भने, ‘स्थानीय सरकारले पनि राहत दिइरहेको छ। अहिले खान र बस्नका लागि व्यवस्था ठिकै छ।’
उनका अनुसार स्थानीय सरकारले चिसो बढ्दै जाने भएकाले विशेषगरी वृद्ध वृद्धा र साना बालबालिका भएका परिवारलाई कोठा भाडामा लिएर बस्न आग्रह गरेको छ। त्यसका लागि प्रतिपरिवार मासिक १५ हजार रुपैयाँसम्म उपलब्ध गराउने भनिएको उनले बताए।
बाढीपीडित गौरी गुरुङले पनि अहिले अस्थायी शिविरमा बसोबास र खानपानको व्यवस्था तुलनात्मक रूपमा सहज रहेको बताइन्। प्रभावित परिवारलाई खाना, सुत्ने व्यवस्था तथा बालबालिकाका लागि कपडा उपलब्ध गराइएको उनको भनाइ छ।
‘अहिले हामीलाई मुख्य रूपमा खान र सुत्नका लागि व्यवस्था चाहिएको हो। त्यो भइरहेको छ,’ उनले भनिन्, ‘सानो बच्चा र वृद्धवृद्धा भएका परिवारलाई कोठा भाडामा लिएर बस्न रकम दिने कुरा पनि भएको छ।’
बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार तथा विभिन्न निकायबाट राहत वितरण भइरहेको भए पनि विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना भने चुनौतीपूर्ण देखिएको छ। अस्थायी टेन्टमा बसिरहेका परिवारलाई चिसोबाट जोगाउने, सुरक्षित आवासको व्यवस्था गर्ने र क्षतिग्रस्त घर तथा सम्पत्तिको यकिन विवरण सङ्कलन गर्नुपर्ने आवश्यकता छ।
बाढीले घर डुबाएपछि विस्थापित भएका स्थानीय अहिले तत्कालका लागि राहत र अस्थायी आवासको भरमा दिन बिताइरहेका छन्। उनीहरूलाई सुरक्षित रूपमा घर फर्कने अवस्था कहिले बन्छ भन्ने अन्योल कायमै छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij