Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

आज दिनभरको ५३ खबर एकै ठाउँमा

आज दिनभरको ५३ खबर एकै ठाउँमा


  • 1.3K
    Shares

    आज दिनभरको ५३ खबर एकै ठाउँमा
    images

    १. हवाई दुर्घटना बीमा बढाउँदा भाडादर बढ्न सक्ने सरकारको संकेत

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हवाई यात्रुको दुर्घटना बीमाको दायित्व अन्तर्राष्ट्रिय मापदण्डअनुसार बढाउँदा आन्तरिक हवाई भाडादरसमेत वृद्धि हुनसक्ने बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले हाल अभ्यासमा रहेको करिव २० हजार अमेरिकी डलरको बीमा दायित्व बढाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार करिब एक लाख अमेरिकी डलरसम्म पु¥याउने तयारी रहेको बताउनुभएको हो । 

    २. सरकारका विधेयकलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्छौंः सभापति रोकाय

    विधायन व्यवस्थापन समिति सभापति कृष्णबहादुर रोकायले राष्ट्रिय सभाले सरकारले ल्याएका विधेयकलाई सकारात्मक रूपमा लिएर छिटो अघि बढाउने र आवश्यक सुधारसहित अझ उत्कृष्ट कानून बनाउने गरी काम गर्ने बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सभापति रोकायले सरकारले राष्ट्रिय सभामा पेश गर्ने विधेयकलाई सदनले सरकारलाई सहयोग गर्ने भावनाका साथ अघि बढाइरहेको बताउनुभएको हो । उहाँले सरकारले राष्ट्रिय सभाले विधेयकलाई अवरोध गर्ने गरेको भन्ने धारणा नराख्न आग्रह गर्दै राष्ट्रिय सभाले विधेयकलाई थप राम्रो, समृद्ध र उत्कृष्ट बनाउने उद्देश्यले काम गरिरहेको बताउनु भयो । 

    ३. विधायन समितिबाट संक्रामक पशुरोग नियन्त्रण विधेयक, २०८३ सर्वसम्मतिले पारित

    संसदीय समितिले ‘संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३’ संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको मंगलवार बसेको बैठकमा विधेयकको प्रतिवेदनमाथि छलफल भएपछि समितिका सभापति कृष्णबहादुर रोकायले संशोधनसहित विधेयक पारित गर्न प्रश्ताव गर्नुभएको थियो । सभापति रोकायको प्रश्तावपछि समितिले प्रतिवेदन परिमार्जनसहित विधेयक सर्वसम्मतिले पारित गरेको घोषणा गरेको हो । विधेयकमा संक्रामक पशुरोगको नियन्त्रण, रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था गर्ने विषय समेटिएको छ । समितिको छलफलका क्रममा विधेयकका विभिन्न प्रावधानमाथि सांसदहरूले सुझाव तथा धारणा राखेका थिए । प्राप्त सुझावका आधारमा प्रतिवेदन परिमार्जन गरी विधेयकलाई समितिबाट पारित गरिएको हो । 

    ४. मन्त्री नआएपछि शिक्षा समितिको बैठक स्थगित

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मन्त्री अनुपस्थित भएपछि स्थगित भएको छ । सिंहदरबारमा मंगलवार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सांसदहरू उपस्थित भएपनि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो । 

    ५. मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार मंगलवार दिउँसो करिव २ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिव एक हजार मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक घाइते भएका छन् । दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जना घाइते भएका छन् । 

    ६. भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले रसुवा र भोटेकोशी क्षेत्रमा भएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोडिएको ‘हिम नदी डिजास्टर’का रूपमा बुझेर सरकारले नयाँ विपद् व्यवस्थापन नीति बनाउनुपर्ने बताउनुभएको छ । मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रानाले भोटेकोशी वा रसुवा बाढी भनेर मात्र घटनालाई परिभाषित गर्दा विपद्को प्रकृति स्पष्ट नहुने बताउनुभएको हो । हिमपहिरो तथा हिउँ पग्लिने क्रमबाट बनेको पानीको ठूलो बहावले नदीमा असामान्य बाढी ल्याएको भन्दै उनले यसलाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्ने बताउनु भयो । उहाँले ग्लोवल वार्मिङका कारण वर्षौंदेखि जमेर बसेको हिउँ पग्लिने तथा हिमताल फुट्ने जस्ता घटनाबाट यस्ता विनाशकारी विपद् निम्तिन सक्ने बताउनु भयो । 

    ७. बाढीमा बेपत्ता शिक्षककी श्रीमतीलाई रोजगारी दिन सांसद भण्डारीको माग

    रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका शिक्षक द्वारिकाप्रसाद दंगालकी श्रीमतीलाई उहाँको रिक्त शिक्षक पदमा नियुक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीको हरिपुर–७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक दंगाल भोटेकोशी बाढीपछि बेपत्ता रहेको र अहिलेसम्म जीवित रहेको कुनै जानकारी प्राप्त नभएको बताउनुभएको हो । दंगाल परिवारको मुख्य आम्दानीको आधार रहेको उल्लेख गर्दै उहाँले उहाँ बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था कमजोर बनेको बताउनु भयो । दंगालकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापनरत रहेको भन्दै आवश्यक प्रक्रिया पूरा गरेर उहाँलाई श्रीमानको रिक्त शिक्षक पदमा नियुक्त गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

    ८. बाढीपीडितका लागि नेशनल प्याब्सनले दियो एक करोड

    रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ । नेशनल प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेको नेतृत्वमा आज अर्थमन्त्री सुशील वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले संस्थागत पहलमा रकम जुटाइएको नेशनल प्याब्सनले जनाएको छ । अध्यक्ष न्यौपाने नेतृत्वको टोलीले अर्थमन्त्री वाग्लेलाई एक करोड रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको हो । नेशनल प्याब्सनको संस्थागत सहयोगसँगै देशभरका सदस्य विद्यालय तथा विभिन्न संस्थाहरूले समेत आ–आफ्नो तर्फबाट राहतका लागि करोडौँ रुपैयाँ बराबरको सहयोग जुटाएका छन् । 

    ९.नागरिक उड्डयन प्राधिकरणलाई दुई निकायमा विभाजन गर्ने विधेयक तयारी हुँदैछः मन्त्री पौडेल

    सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टा–छुट्टै निकायमा विभाजन गर्नेगरी विधेयक तयारी अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मंगलवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा प्राधिकरण विभाजनसम्बन्धी विधेयक तयारीको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको हो । उहाँकाअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रेगुलेटरी निकाय र सर्भिस प्रोभाइडर गरी दुई भागमा विभाजन गर्ने प्रश्तावसहितको विधेयक तयार भइसकेको छ र कानूनी रायका लागि समेत पेश गरिएको छ ।

    १०. तीन तहका सरकारबीच खर्क व्यवस्थापनको अधिकार स्पष्ट पार्न कानून आवश्यक

    नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी साहले संघीय संरचनाअनुसार खर्क तथा चरन क्षेत्रको संरक्षण, व्यवस्थापन, उपयोग र नियमनको जिम्मेवारी कुन तहको सरकारमा रहने भन्ने स्पष्ट गर्न छुट्टै कानूनी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । नेपाल र भूटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण गर्ने विषयमा मंगलबार आयोजित बहुसरोकारवाला छलफल कार्यक्रममा मंगलवार बोल्दै शाहले तीन तहका सरकारबीच कार्यसम्पादन र समन्वयका लागि स्पष्ट कानूनी आधार आवश्यक रहेको बताउनुभएको हो । उहाँकाअनुसार खर्क नीति, २०६८ का कतिपय व्यवस्था नेपालको वर्तमान कानून र संघीय संरचनासँग मेल खाँदैनन् । 

    ११. जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’

    भोटेकोशी रसुवा बाढीसँगै जलवायु न्यायको विषय टड्कारो उठिरहेका सांगीतिक क्षेत्रमा जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक सांगीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ सार्वजनिक भएको छ । कार्बन उत्सर्जनमा योगदान नगण्य भएपनि जलवायु संकटका कारण बढ्दो विपद्को सबैभन्दा गहिरो चोट भने नेपालका हिमाली र नदीकिनारका समुदायले व्यहोरिरहेका सार्वजनिक भएको यो गीतले जलवायु न्यायका लागि विश्वको ध्यान आकर्षित गरेको छ । तथ्यले मानिसलाई जानकारी दिन्छ, कथाले भावनालाई जोड्छ र संगीतले अनुभूतिलाई स्मृतिमा राख्छ । 

    १२. खर्कबाट ऊन, दूध र मासु उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छः सभापति चौधरी

    राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालका खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्दै ऊन, दूध र मासुजन्य उत्पादन बढाएर आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । सभापति चौधरीले खर्क तथा चरन क्षेत्र पशुपालन र हिमाली समुदायको जीविकोपार्जनको आधारसँगै देशको उत्पादन र अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण स्रोत भएकाले यसको व्यवस्थित उपयोग आवश्यक रहेको बताउनुभएको हो । ‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै सभापति चौधरीले खर्कको उत्पादनशीलता बढाउन सके ऊन, दूध र मासुजन्य पदार्थको उत्पादनमा वृद्धि गर्न सकिने बताउनु भयो । 

    १३. खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छः राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी

    राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारीले नेपालका खर्क तथा चरन क्षेत्रको दिगो व्यवस्थापनका लागि भूटानले अपनाएका नीतिगत तथा संस्थागत अभ्यासबाट सिक्नुपर्ने बताउनुभएको छ । नेपाल र भूटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण गर्ने विषयमा आयोजित बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले खर्कलाई केवल पशु चराउने खुला भू–भागका रूपमा नभई हिमाली तथा पहाडी अर्थतन्त्र, जैविक विविधता, जलाधार संरक्षण र ग्रामीण समुदायको जीविकोपार्जनसँग जोडिएको महत्वपूर्ण प्राकृतिक स्रोतका रूपमा लिनुपर्ने बताउनु भयो ।

    १४. खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको समस्या सम्बोधन गर्न सकिन्छः अध्यक्ष दाहाल

    राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्नसके जलवायु परिवर्तनको प्रभाव न्युनिकरणसँगै पानीका मुहान संरक्षण, भूक्षयीकरण नियन्त्रण र बेरोजगारीको समस्या समाधानमा समेत योगदान पुग्ने बताउनुभएको छ । मंगलवार ‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले खर्क तथा चरन क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्दै व्यवस्थित रूपमा उपयोग गर्नुपर्ने बताउनुभएको हो । उहाँले जलवायु परिवर्तन अहिले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै टड्कारो र जटिल समस्याका रूपमा देखिएको उल्लेख गर्नुभयो । यसबाट नेपालले ठूलो पीडा भोगिरहेको उहाँले बताउनु भयो । 

    १५. खर्क तथा चरन क्षेत्रलाई रोजगारी सिर्जनासँग जोड्नुपर्छः अध्यक्ष दाहाल

    राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा विभिन्न कानूनी अवरोध देखिएको बताउनुभएको छ । मंगलवार ‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले खर्कसम्बन्धी कानूनलाई व्यापक रूपमा पुनरावलोकन गर्नुपर्ने बताउनुभएको हो । उहाँले वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र भूमिसम्बन्धी कानूनलगायतका व्यवस्थाबीच एकअर्कालाई सहयोग गर्नेभन्दा पनि कतिपय अवस्थामा एकअर्काको क्षेत्र विस्थापित गर्ने अवस्था देखिएको बताउनु भयो । सार्वजनिक जग्गा, खर्क तथा चरन क्षेत्रको उपयोग र व्यवस्थापनका विषयमा सबै सम्बन्धित कानूनलाई समेटेर गम्भीर छलफल आवश्यक रहेको उहाँको भनाइ छ ।

    १६. कृष्णभीरमा पाखो ताछेर ‘फेरि ठूलो विपत्ति निम्त्याउने जोखिम’ हो–माटोविज्ञ न्यौपाने

    बाढी पहिरोका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिरहेका बेला भू–प्राविधिक विज्ञले भने हाल पाखो काटेर बनाइँदै गरेको अस्थायी सडकलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने बताएका छन् । बाढीपछि नदीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक सञ्चालनका लागि माथिल्लो भागको पाखो काटेर अस्थायी सडक निर्माण भइरहेको छ । सडक विभागले तत्काल यातायात सञ्चालन सहज बनाउन उक्त विकल्प अघि बढाएको हो । तर भू–प्राविधिक इन्जिनियर उदयराज न्यौपानेले कृष्णभीरको भौगोलिक अवस्था नै संवेदनशील रहेकाले सडक निर्माण गर्दा जमिनको अवस्था र नदी कटानलाई मुख्य आधार बनाउनुपर्ने बताउनु भयो । 

    १७. कन्काइ पुल १४ वर्ष अलपत्र पार्ने पप्पु–महादेव खिम्तीलाई २ अर्ब जरिवाना, दाखिला गर्न ३५ दिने अल्टिमेटम

    हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने रणनीतिक महत्वको कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी ‘पप्पु–महादेव खिम्ती संयुक्त उपक्रम (जेभी)’ लाई सरकारले करिव २ अर्ब रुपैयाँ जरिवाना तिराउने भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐनबमोजिम १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ सरकारी राजश्व खातामा दाखिला गर्न ३५ दिने सार्वजनिक सूचना जारी गर्दै कानूनी प्रक्रिया शुरु गरेको हो । सार्वजनिक खरिद ऐनबमोजिम निर्धारण गरिएको १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ तोकिएको समयभित्र राजश्व खातामा दाखिला नगरे निर्माण कम्पनीको जायजेथा रोक्का गरी सरकारी बाँकी सरह तहसिल कार्यालयमार्फत असुल गरिनेछ । 

    १८. ऋषिपञ्चमीको पावन उल्लासः ३६५ दतिवनले पखालियो वर्षभरिको अशुद्धि, तीर्थस्थलमा नारी शक्तिको वन्दना

    वैदिक सनातन धर्मावलम्बी महिलाहरूले आज भाद्र शुक्ल पञ्चमीका दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सात ऋषि तथा माता अरुन्धतीको निष्ठापूर्वक पूजाआराधना गरी ऋषिपञ्चमी पर्व मनाएका छन् । हरितालिका तीजको व्रत समापनसँगै पर्ने यस दिन काठमाडौंको ऐतिहासिक टेकुस्थित ऋषेश्वर मन्दिर, पशुपतिनाथ वागमती किनार, गोकर्णेश्वर, त्रिवेणी धाम, देवघाट लगायत देशभरका नदी, पोखरी र जलाशयहरूमा बिहानैदेखि श्रद्धालु महिलाहरूको अभूतपूर्व घुइँचो लागेको छ । आज बिहान मिरमिरे उज्यालोसँगै तीर्थस्थल पुग्ने बाटा र सडक किनारमा श्रद्धालुहरूको बाक्लो चहलपहल शुरु भएको थियो । हाम्रा फोटो पत्रकारले कैद गरेका दृश्यहरूमा रातो, पहेंलो र गुलाबी रंगका परम्परागत पहिरनमा सजिएका महिलाहरू सडक छेउमा दतिवन, काँसको फूल, दूवो र पूजाका सामग्री किन्न व्यस्त देखिन्थे ।

    १९. उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री

    भोटेकोशी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–५ का १ सय ६५ परिवारलाई पोखरा महानगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । महानगरपालिकाले ६ वटा ट्रकमार्फत पठाएको राहत सामग्री प्रभावित परिवारलाई वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष माधव अर्यालको रोहबरमा वितरण गरिएको राहत सामग्रीमा प्रतिपरिवार करिव ४० हजार रुपैयाँ बराबरका दैनिक उपभोग्य सामग्री छन् । चामल, तेल, लत्ताकपडा, सिरक, डसना तथा चम्चादेखि खाना पकाउने कुकरसम्मका सामग्री प्रभावित परिवारलाई उपलब्ध गराइएको छ । पोखरा महानगरपालिकाका नगर प्रहरी नायव निरीक्षक हरि थापाको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री हस्तान्तरण तथा वितरण गरेको हो ।

    २०. इन्द्रजात्रामा स्वयंसेवक भोकै बस्न नदिने, काठमाडौंमै मुआली बजाउने तयारी

    काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा खटिने स्वयंसेवकका लागि खाना, खाजा र पानीको व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निःस्वार्थ रूपमा जात्राको व्यवस्थापनमा खटिने स्वयंसेवकलाई आवश्यक खानपानको व्यवस्था गर्नु महानगरको साझा दायित्व भएको बताउनुभएको हो । इन्द्रजात्राको तयारीबारे गुठीहरूसँग मंगलवार भएको छलफलमा डंगोलले सामाजिक सेवाका रूपमा फिल्डमा खटिने स्वयंसेवकलाई कम्तीमा खाना, खाजा र पानीको अभाव हुन नदिने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभयो । उहाँले वाह्य व्यवस्थापनको संयोजन गणपतिलाल श्रेष्ठले गर्ने र स्वयंसेवकको खाजासहित आवश्यक व्यवस्थापनका लागि सूची बनाएर तत्काल तयारी अघि बढाउन आग्रह गर्नुभयो । महानगरपालिकाले व्यवस्थापनलाई तीव्रता दिने पनि उहाँले बताउनु भयो ।

    २१. आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

    वैदिक सनातन धर्मावलम्बीहरूले आज श्रद्धा र भक्तिपूर्वक ऋषिपञ्चमी पर्व मनाउँदैछन् । ऋषिपञ्चमीका अवसरमा देशभरका विभिन्न धार्मिक तथा तीर्थस्थलमा पूजा–आराधना गर्ने भक्तजनको भीड लागेको छ । काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि सप्तऋषिसहित अरुन्धतीको पूजा–आराधना गर्ने भक्तजनको उल्लेख्य भीड रहेको छ । विशेषगरी महिलाहरूले ऋषिपञ्चमीका दिन स्नान गरी सप्तऋषि र अरुन्धतीको विधिपूर्वक पूजा गर्ने तथा व्रत बस्ने धार्मिक परम्परा रहँदै आएको छ । यस दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सप्तऋषिको पूजा गरिन्छ । ऋषिपञ्चमीलाई तीज पर्वको अन्तिम दिनका रूपमा समेत लिइन्छ । धार्मिक आस्थाका साथ मनाइने यस पर्वले नेपाली समाजमा परम्परा, संस्कार र सांस्कृतिक निरन्तरताको महत्व बोकेको छ । 

    २२. ‘हवाई पूर्वाधार विस्तारसँगै यात्रु सुरक्षाको कानूनी प्रत्याभूति आवश्यक’

    हवाई पूर्वाधार विस्तारसँगै यात्रुको सुरक्षा, सेवाको गुणस्तर र क्षतिपूर्तिको कानूनी प्रत्याभूति सुनिश्चित गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको छलफलमा सांसदहरूले यात्रुको समय, सुरक्षा र अधिकारलाई कानूनमै स्पष्ट गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले उडान रद्ध वा ढिलाइ हुँदा वैकल्पिक व्यवस्था र क्षतिपूर्ति, दुर्घटनामा घाइते वा मृत्यु भएमा उचित क्षतिपूर्ति तथा लगेज, मालसामान र तेस्रो पक्षको सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने बताए । सांसदहरूले कानून निर्माणसँगै वायुसेवा कम्पनीको कडा नियमन, समयपालना र हवाई पूर्वाधार निर्माणमा प्राविधिक तथा आर्थिक सम्भाव्यतालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे । 

    २३. अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति

    उत्तरी चीनको हबेई प्रान्तस्थित कान्झाउमा आयोजित १२ औँ चीन कान्झाउ अन्तर्राष्ट्रिय वुसु प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताले विभिन्न देशका खेलाडीलाई प्रतिस्पर्धासँगै सांस्कृतिक आदानप्रदानको साझा मञ्च प्रदान गरेको छ । प्रतियोगितामा ४० देश तथा क्षेत्रबाट ४ हजार ३५० भन्दा बढी मार्सल आर्ट खेलाडी तथा प्रशिक्षक सहभागी भएका थिए । ठूलो अन्तर्राष्ट्रिय सहभागिताले प्रतियोगितालाई वुसुमार्फत विभिन्न संस्कृति र समुदायबीच सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर बनाएको आयोजकहरूले बताएका छन् । प्रतियोगितामा सहभागी रुसी खेलाडी एन्टोन आन्द्रेभ विगत १६ वर्षदेखि कान्झाउमा वुसु सिक्दै आएका छन् । 

    २४. टर्कीका राष्ट्रपति एर्दोगान चाँडै सिरिया भ्रमणमा जाने

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले चाँडै सिरियाको भ्रमण गर्ने तयारी भइरहेको टर्कीका विदेशमन्त्री हाकान फिदानले बताउनुभएको छ । दमास्कस र अंकाराबीच राजनीतिक तथा आर्थिक सहकार्य थप विस्तार भइरहेका बेला एर्दोगानको सिरिया भ्रमणको तयारी अघि बढाइएको हो । सिरियाको सरकारी समाचार संस्था सानाकाअनुसार विदेशमन्त्री फिदानले आईतवार दमास्कसमा सिरियाका विदेश मामिला प्रमुख असद हसन अल–शिबानीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणका लागि आवश्यक वातावरण तयार पार्ने काम भइरहेको बताउनु भयो । भेटवार्तामा दुवै अधिकारीले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए ।

    २५. ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै

    भारतको दोस्रो ठूलो राज्य मध्य प्रदेशमा ब्रिक्सको नयाँ विकास बैंक (एनडीबी) को आर्थिक सहयोगमा निर्माण गरिएको सडक परियोजनाले स्थानीय बासिन्दाको जीवनयापन सहज बनाउनुका साथै रोजगारी र व्यवसायका अवसरसमेत बढाएको छ । सन् २०२३ मा सम्पन्न मध्य प्रदेश मेजर डिस्ट्रिक्ट रोड्स परियोजना अन्तर्गत राज्यभरका १ हजार ५४० किलोमिटरभन्दा बढी प्रमुख जिल्ला सडकको स्तरोन्नति गरिएको थियो । सडक निर्माण तथा स्तरोन्नतिको काम मध्य प्रदेश रोड डेभलपमेन्ट कर्पोरेसन लिमिटेड (एमपीआरडीसी) ले गरेको हो । एमपीआरडीसीका प्राविधिक सल्लाहकार इन्जिनियर आर.के. मेहराकाअनुसार परियोजना शुरु हुनुअघि विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा अधिकांश सडकको अवस्था निकै खराब थियो । एनडीबीको सहयोगमा ती सडकलाई पुनर्निर्माण तथा स्तरोन्नति गर्दै टिकाउ र गुणस्तरीय सडक निर्माण गरिएको उनले बताए। 

    २६. ब्रिक्स सहकार्यबाट ब्राजिलियन व्यवसायीलाई नयाँ व्यापारिक अवसर

    चीनको सियामेनमा कार्यरत ब्राजिलियन व्यवसायी मार्सेलो गोमेसले ब्रिक्स राष्ट्रहरूबीचको बढ्दो सहकार्यले व्यापार विस्तारका नयाँ अवसर सिर्जना गरेको बताएका छन् । गोमेस सन् २०१७ देखि चीनको फुजियान प्रान्तस्थित सियामेनमा काम गर्दै आएका छन् । उनी अहिले ब्राजिलको एक प्रमुख व्यापारिक कम्पनीको स्थानीय सञ्चालन व्यवस्थापन गर्दैछन् । गोमेसकाअनुसार चीनसँग कम्पनीको व्यापार निरन्तर विस्तार भइरहेको छ । कम्पनीले पाँच दशकभन्दा लामो समयदेखि चीनसँग व्यापार गर्दै आएको र मुख्यतः चिनियाँ वस्तु ब्राजिलमा आयात गर्दै आएको उनले बताए । उनकाअनुसार सियामेन कम्पनीका लागि रणनीतिक व्यापारिक केन्द्र हो । 

    २७. लेबनानमा युद्धबाट ध्वस्त विद्यालय, बालबालिकालाई कक्षाकोठा फर्किन कठिन

    लेबनानको बेका क्षेत्रमा केही विद्यालयमा विद्यार्थी कक्षाकोठामा फर्किए पनि युद्धका कारण क्षतिग्रस्त विद्यालयहरूमा शैक्षिक गतिविधि सामान्य अवस्थामा फर्काउन कठिनाइ भइरहेको छ । मचघारास्थित महदी विद्यालयमा विद्यार्थी पुनः कक्षामा फर्किएका छन् । विद्यालयका कक्षाकोठा फेरि पढाइ र बालबालिकाको खेलकुदको आवाजले भरिन थालेका छन् । तर नजिकै रहेको सहमार सार्वजनिक विद्यालयको अवस्था भने निकै फरक छ । इजरायली हवाई आक्रमणका कारण विद्यालयका कक्षाकोठा, झ्याल, पर्खाल तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पुगेको छ । क्षतिका कारण विद्यालयका केही भाग अझै प्रयोग गर्न नसकिने अवस्थामा छन् । 

    २८. विश्वकै पहिलो प्रागैतिहासिक उड्ने सरीसृपसम्बन्धी संग्रहालय चीनको सिनजियाङमा खुल्यो

    डायनासोरसँग नजिकको सम्बन्ध रहेको प्टेरोसोर नामक पखेटाधारी प्रागैतिहासिक सरीसृपमा केन्द्रित विश्वकै पहिलो संग्रहालय चीनको उत्तरपश्चिमी सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा आइतबारदेखि सञ्चालनमा आएको छ । सिनजियाङको हामी क्षेत्रमा रहेको राष्ट्रिय जियोपार्कमा संग्रहालय निर्माण गरिएको हो । हामी क्षेत्र प्टेरोसोरका जीवाश्म ठूलो संख्यामा फेला परेको स्थानका रूपमा परिचित छ । करिव ४ हजार ६ सय वर्गमिटर प्रदर्शनी क्षेत्र रहेको हामी प्टेरोसोर संग्रहालयमा अण्डाकार आकारका छवटा प्रदर्शनी कक्ष छन् । ती कक्षलाई फरक–फरक उचाइ र कोणमा राखिएको छ । माथिबाट हेर्दा संग्रहालय मरुभूमिमा राखिएका प्टेरोसोरका अण्डाको समूहजस्तै देखिन्छ । संग्रहालयमा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको कशेरुकी जीवाश्म विज्ञान तथा पुराजीव मानवशास्त्र संस्थानका अनुसन्धानकर्ताले दुई दशकभन्दा बढी समयदेखि गरेका उद्धार उत्खननबाट प्राप्त जीवाश्महरू प्रदर्शनमा राखिएका छन् । 

    २९. विश्वव्यापी हरित रूपान्तरणका लागि बलियो सहकार्य आवश्यकः व्यवसाय परिषद् प्रमुख

    विश्वव्यापी हरित रूपान्तरणलाई तिब्र बनाउन चीनसहित विश्वभरका व्यवसायीबीच सहकार्य र ज्ञान आदानप्रदान थप मजबुत बनाउनुपर्ने विश्व दिगो विकास व्यवसाय परिषद्का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पिटर बाक्करले बताउनुभएको छ । चीनको उहानस्थित इस्ट लेक र स्विट्जरल्यान्डको लेक जेनेभाको नामबाट राखिएको ‘टु लेक्स डायलग’को तेस्रो संस्करण मंगलवारदेखि बिहीवारसम्म उहानमा आयोजना हुँदैछ । विश्व दिगो विकास व्यवसाय परिषद्, हुबेई होङताई समूह र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्को हुबेई उपपरिषद्को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । बाक्करले भू–राजनीतिक घटनाक्रमले विश्व समाचारमा ठूलो स्थान ओगटिरहेका बेला चीन र पश्चिमी मुलुकका व्यवसायीलाई एउटै मञ्चमा ल्याएर अर्थतन्त्रलाई कसरी कार्बन उत्सर्जनमुक्त बनाउने भन्ने विषयमा छलफल गर्नु महत्वपूर्ण रहेको बताउनु भयो ।

    ३०. हंगेरी र जर्मनीबीच दीर्घकालीन साझेदारी थप मजबुत बनाउने सहमति

    हंगेरी र जर्मनीले दुई देशबीचको लामो समयदेखिको साझेदारीलाई थप मजबुत बनाउँदै द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय शुरु गर्ने सहमति गरेका छन् । हंगेरीका उपप्रधानमन्त्री तथा विदेशमन्त्री अनिता ओर्बान र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच सोमबार बुडापेस्टमा भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा दुई देशले बलियो, सुरक्षित र प्रतिष्पर्धी युरोप निर्माणमा संयुक्त रूपमा योगदान गर्ने प्रतिवद्धता जनाएका छन् । वार्ताका क्रममा हंगेरीका प्रधानमन्त्री पिटर म्याग्यारको आगामी नोभेम्बर ९ र १० मा हुने बर्लिन भ्रमणको तयारी शुरु भइसकेको जानकारी दिइएको छ । दुवै देशले हंगेरी–जर्मन फोरमलाई थप प्रभावकारी बनाउने, विदेश मन्त्रालयबीच नियमित परामर्श सञ्चालन गर्ने तथा युवा कुटनीतिज्ञबीचको आदानप्रदान विस्तार गर्ने सहमति गरेका छन् । 

    ३१. इन्द्रध्वजाको लिङ्गो उठाउन नालाबाट भोटाहिटी ल्याईयो रुख

    इन्द्रजात्रामा इन्द्रध्वजाको लिङ्गो उठाउन काभ्रे र भक्तपुरको सीमानाका नालाबाट रुख (यःसिं)काटेर भोटाहिटीमा ल्याइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित सल्लाघारीबाट रानी सल्लाको रुखलाई काटेर विभिन्न धार्मिक विधि पूरा गर्दै काठमाडौं ल्याइएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको शुभ साइतअनुसार रुख काट्ने, क्षमा पूजा गर्ने तथा काठमाडौं ल्याउने प्रक्रिया अगाडी बढाईने गरेको केन्द्रिय मानन्धर संघका सचिव केके मानन्धरले जानकारी दिनुभयो । पूर्वीय परम्परामा रुख काट्नु प्राण लिने कार्यसरह मानिने भएकाले रुख काट्नुअघि क्षमा पूजा गर्ने प्रचलन रहेको छ ।

    ३२. उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई काठमाडौंको प्रश्ताव

    काठमाडौ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानिय तहलाई प्रश्ताव गरेको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुरको भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई उक्त प्रश्ताव गर्नुभएको हो । काठमाडौं र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालिन यातयात सेवामा जोडिन उहाँले भक्तपुरका स्थनीय तहलाई पनि आग्रह गर्नुभयो । उहाँकाअनुसार गत वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकाको सहकार्ययमा साझा यातयातले रात्रिकालिन यातयात सेवा सञ्चालन भइरहेको छ । रात्रिकालीन बस सेवा काठमाडौं बाहिरका क्षेत्रमा विस्तार गर्नुपर्ने माग बढेको उहाँले बताउनु भयो । 

    ३३. क्यासिनो व्यवसायीको सुझाव–‘एउटै होटलमा एकभन्दा बढी क्यासिनो खोल्न हुन्न, नविकरण अवधि पाँच वर्ष बनाउनु पर्छ’

    क्यासिनो व्यवसायीहरुले क्यासिनो नविकरण पाँच गर्ने अवधि पाँच वर्ष बनाउन सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलका क्रममा क्यासिनो व्यवसायीहरूले क्यासिनोको नविकरण हरके वर्ष गर्ने व्यवस्था हटाउन माग गरेका हुन् । व्यवसायीहरुले एउटा होटलमा एक भन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाईने व्यवस्था गर्न पनि सुझाव दिएका छन् । क्यासिनो व्यवसायी अमूल्य राणाले एउटै होटल परिसरमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको भएपनि त्यसलाई थप स्पष्ट गर्नुपर्ने बताउनु भयो । उहाँले प्रश्तावित विधेयकमा ‘होटल परिसर’को परिभाषा अझ स्पष्ट गर्न आवश्यक रहेको बताउनु भयो । एउटै होटलको फरक–फरक भागमा छुट्टाछुट्टै क्यासिनो वा शाखा सञ्चालन गर्न नपाउने गरी कानूनी व्यवस्था स्पष्ट गर्नुपर्ने उहाँको माग छ । 

    ३४. मिनी क्यासिनो व्यवसायीको माग– ‘क्षेत्रफलको आधारमा क्यासिनो वर्गिकरण गरी रोयल्टी निर्धारण गरियोस्’

    मिनी क्यासिनो व्यवसायीहरूले गेमिङ एरियाको क्षेत्रफलका आधारमा क्यासिनो वर्गीकरण गर्नुपर्ने माग राखेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथि क्यासिनो क्षेत्रका व्यवसायीसँग भएको छलफलमा उनीहरूले क्षेत्रफलका आधारमा क्यासिनोलाई वर्गीकरण गरि रोयल्टी निर्धारण गर्न माग गरेका हुन् । साथै उनीहरुले क्यासिनो सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्न पाँच वर्षको समय दिनुपर्ने बताएका छन् । मिनी क्यासिनो व्यवसायी किशोर सिलवालले क्यासिनोको वर्गीकरण गेमिङ जोनको क्षेत्रफलका आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । 

    ३५. राष्ट्रिय सभाबाट पारित भएको पर्यटन विधेयकलाई पुनर्लेखन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय सभाले पारित गरेको ‘पर्यटन विधेयक, २०८१’ लाई पूरै पुनर्लेखन गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा क्यासिनो क्षेत्रका व्यवसायीसँग भएको छलफलमा मन्त्री पौडेलले विधेयकमा सुधार गर्नुपर्ने धेरै विषय रहेकाले विधेयक पुनर्लेखनकै चरणबाट अघि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले नियमावलीमा राख्नुपर्ने विषय समेत ऐनमा राखिएकोले सुधार गर्न आवश्यक रहेको बताउनु भयो । विधेयकलाई चुस्त र दीर्घकालीन बनाउने गरी ऐनमा समेट्नुपर्ने र नियमावलीमा राख्नुपर्ने विषय छुट्याउनुपर्ने उहाँको भनाई छ । ऐनमा अत्यधिक तथ्यांक तथा निश्चित मापदण्ड राख्दा समयअनुकूल संशोधन गर्न कठिन हुने भएकाले दूरी, क्षेत्रफललगायत तथ्यांकमा आधारित विषय विधेयकबाट हटाएर नियमावलीमा राख्नु उपयुक्त हुने उहाँले बताउनु भयो । 

    ३६. विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखलाई काँग्रेसको ध्यानाकर्षण

    नेपाली काँग्रेसले विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न गर्न सभामुभको ध्यानाकर्षण गराएको छ । मंगलवार नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर ध्यानकर्षण गराउनुभएको हो । उहाँले विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गरेको बताउनु भयो । विपद् व्यवस्थापनमा राज्यका सबै निकाय र राजनीतिक दलको समन्वय आवश्यक रहेकोले संसदीय समितिमार्फत सरकारका कामको अनुगमन र समन्वय गर्नुपर्ने उहाँको भनाई छ । उहाँकाअनुसार विपद् आएको १७–१८ दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाइएको संसदीय उच्चस्तरीय समिति गठनको विषय कार्यान्वयनमा आउन सकेको छैन । 

    ३७. संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि सर्वदलिय बैठक राख्न प्रधानमन्त्रीलाई आङ्देम्बेको सुझाव

    नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र साहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलिय बैठक राख्न सुझाव दिनुभएको छ । मंगलवार सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । महासभामा भाग लिन जानुअघि नेपालले उठाउने विषयलाई एकरुपमा बनाउन र नेपालले उठाउन लागेको विषयमा जानकारी गराउन सर्वदलिय बैठक आवश्यक रहेको उहाँले बताउनु भयो । तर सर्वदलिय बैठकमा प्रधानमन्त्रीले कुनै चासो नदेखाएको उहाँको आरोप छ । प्रधानमन्त्रीले महासभामा नेपालको वर्तमान परिस्थिति र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा प्रश्तुत गर्नुपर्ने उहाँको भनाई छ । महासभामा सीमित समय मात्रै बोल्न पाइने भएकाले साइड टक तथा अन्य कूटनीतिक भेटवार्ताका विषयमा समेत सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

    ३८. ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन

    प्रतिनिधि सभाबाट एशियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एशियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स) क्यालीको सदस्यता प्राप्त गर्ने प्रश्ताव अनुमोदन गरिएको छ । सभाको मंगलवारको बैठले कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेश गर्नुभएको उक्त प्रश्ताव अनुमोदन सर्वसम्मतिले अनुमोदन गरेको हो । यसअघि उक्त प्रश्तावमाथि दफावार छलफल गरिएको थियो । छलफलमा उठेका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले एशियाली विधायिकी संस्थाहरूको परिषद् (क्याली) ले डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता र जलवायु परिवर्तनबाट उत्पन्न विधायिकी चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रबीच सहकार्य र अनुभव आदानप्रदानमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

    ३९. आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आईतवार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन प्रभावित भएको बताउनु भयो । आईतवारको बिदा कसैलाई पनि नचाहिएको उहाँको भनाइ छ । उहाँले आईतवारको बिदा खारेज गरी सातामा एकदिन शनिवार मात्र बिदा दिने व्यवस्था कायम गर्न माग गर्नुभयो ।

    ४०. आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः सांसद बास्कोटाको प्रश्न–विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ?’

    रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार भई आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको प्रकरणले संसदमा गरेको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले यो प्रकरणबारे संसदमा प्रश्न उठाउनुभएको हो । यसअघि एक युट्युब च्यानलबाट उद्धार भई आइसीयूमा उपचाररत व्यक्तिसँगको अन्तर्वार्ता सार्वजनिक भएको थियो । सांसद बास्कोटाले अस्पतालको आईसियूमा उपचाररत बिरामीको संवेदनशीलता र गोपनीयतामाथि प्रश्न उठ्ने गरी अन्तर्वार्ता सार्वजनिक गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले आईसियूमा अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताउनु भयो । 

    ४१. उद्धार, पुनस्र्थापना र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन तत्काल संसदीय विशेष समिति गठन गरियोस्ः एमाले

    नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले विपद्पछिको राहत, खोज तथा उद्धार, पुनस्र्थापना र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले बाढीपीडितका लागि राहत संकलन भएपनि रसुवाका विभिन्न क्षेत्रमा पर्याप्त राहत पुग्न नसकेको जनगुनासो आएको भन्दै प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउन माग गर्नुभयो । उहाँले बेपत्ता नागरिकको खोजीमा ढिलाइ, राहत वितरणमा विभेद र पुनस्र्थापनाको तयारी समेत नभएको भन्दै सरकारको आलोचना पनि गर्नुभयो । उहाँले सरकारले आफ्नो सामथ्र्यको समयमै आँकलन गर्न नसक्दा ठूलो क्षति भएको पनि बताउनु भयो ।

    ४२. खोज तथा उद्धारमा सरकारको कमजोरीको कारण नागरिकले अकालमै ज्यान गुमाएः श्रम संस्कृति पार्टी

    श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले रसुवालगायत बाढी प्रभावित जिल्लाहरुमा सरकारले खोज, उद्धार र राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नसकेको आरोप पनि लगाउनु भयो । उहाँले रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका नागरिकको उद्धारमा पर्याप्त मात्रमा सुरक्षाकर्मी तथा विज्ञ परिचालन नगरिएको पनि बताउनु भयो । प्रमुख सचेतक राईले चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता भएको जानकारीमा आएको बताउनु भयो । उहाँले सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने नागरिकको समेत अकालमा ज्यान गएको आरोप पनि लगाउनु भयो ।

    ४३. गुठी जग्गासम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्छौंः मन्त्री रावल

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी समस्या समाधान गर्न ऐन निर्माणको गृहकार्य भइरहेको भन्दै छिट्टै संसदमा पेश गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदसँग मौखिक प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले गुठी जग्गासम्बन्धी विद्यामान समस्याबारे आवश्यक अध्ययन तथा विज्ञहरुसँग छलफल भइरहेको बताउनु भयो । उहाँले गुठी जग्गाका किसानको हकअधिकार र गुठी जग्गामा भएको अनधिकृत अतिक्रमणका विषयमा सरकार गम्भीर पनि बताउनु भयो ।

    ४४. गृहमन्त्री गुरुङको सम्पती छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न काँग्रेस सांसद केरुङको माग

    नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले गृहमन्त्री गुरुङको सम्पती, शेयर लगानी तथा विवादित व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नको छानबिन गर्न सरकारले गठन गरेको समितिको प्रतिवेदन संसद् र जनतासामु सार्वजनिक गर्नुपर्ने उहाँको माग छ । स्वार्थको द्वन्द्व नहोस् र आफूविरुद्ध निष्पक्ष छानबिन होस् भन्दै गृहमन्त्री गुरुङले वैशाख ९ गते राजीनामा दिनुभएको थियो । त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । 

    ४५. चिया मजदुरको ज्याला, सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था कडाइका साथ कार्यान्वयन गरियोस्ः सचेतक राई

    नेपाली काँग्रेसका सचेतक निश्कल राईले चिया मजदुरका लागि सरकारले तोकेको ज्याला, सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले चिया मजदुरका हकहितका लागि सरकारले निर्धारण गरेका मापदण्ड कार्यान्वयनमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालको पहिलो नवग्राम मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको बताउनु भयो । उहाँले नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

    ४६. जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धिबारे संसदलाई जानकारी गराउन नेकपाको माग

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धीबारे संसदलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले जलविद्युत आयोजनाका सुरुङमध्ये कति वटामा खोज तथा उद्धार कार्य सम्पन्न भयो ? र कति वटामा अझै जारी छ भन्नेबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो । उहाँले २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–ए जलविद्युत आयोजनामा बेपत्ताको खोजी कार्यको पछिलो अवस्थाबारे समेत सरकारसँग जवाफ माग गर्नुभयो ।

    ४७. तातोपानी नाका तत्काल सञ्चालन गर्न प्रमुख सचेतक दुलालको माग

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेत युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएको उल्लेख गर्दै वैकल्पिक नाकाको रुपमा रहेको तातोपानी नाका खुलाउन कुटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो । उहाँले तातोपानी नाका लामो समयदेखि बन्द हुँदा दशैँको मुखमा आयात–निर्यात प्रभावित हुनुका साथै बजारमा वस्तुको अभाव र महँगी बढ्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

    ४८. दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न सांसद खरेलको प्रश्ताव

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो । उहाँले पछिल्लो समय मुलुकमा घटिरहेका विपद्का घटनाहरुलाई दैवीप्रकोप भन्न नमिल्ने बताउनु भयो । सांसद खरेलले बाढी, पहिरो, डुबान, कटान तथा भूकम्पलगायतका विपद्लाई दैवी प्रकोप नभई मानव सिर्जित वा प्राकृतिक विपद्का रूपमा बुझ्नुपर्ने बताउनु भयो । उहाँले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४ तथा त्यसअन्तर्गत बनेको नियमावलीले दैवी प्रकोपसम्बन्धी पुरानो कानुनी व्यवस्थालाई विस्थापित गरिसकेको उल्लेख गर्नुभयो ।  

    ४९. पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकाहरुको पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले पूर्ण रुपमा पहिचान भई परिवारले दाबी गरेको शव समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीडित परिवारले गरिरहेको बताउनु भयो । उहाँले व्यवस्थापन गरिसकिएका शवको डीएनए रिपोर्ट आउन ढिलाइ भइरहेकोप्रति पनि आपत्ति जनाउनु भयो । उहाँकाअनुसार डीएनए परीक्षणका लागि प्रहरी अस्पतालमा रगतको नमूना दिएको १५ दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन । उहाँले सबै शवको डीएनए रिपोर्ट एकैपटक निकाल्ने तयारी गरिएकाले समय लाग्ने जानकारी पीडित परिवारले पाएको समेत बताउनु भयो ।

    ५०. लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्शा मुलुकको सार्वभौम दस्ताबेज भएको भन्दै यसलाई बोझ मान्न नसकिने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदसँग मौखिक प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, सीमा रक्षा र राष्ट्रिय स्वाभिमानको संरक्षण कुनैपनि सरकारको सर्वोपरी र स्थायी जिम्मेवारी भएको स्पष्ट पनि पार्नुभयो । उहाँले भारत भ्रमणका क्रममा आफूले प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ (पुरानो बोझ) भन्ने अभिव्यक्ति नेपालको राष्ट्रिय हित, सीमा र सार्वभौमसत्तासँग सम्बन्धित नभएको पनि बताउनु भयो । उहाँले छिमेकी मुलुकसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ–हानिको औजार बनाउने विगतको अभ्यासलाई आफूले पुरानो बोझको रुपमान व्याख्या गरेको बताउनु भयो । 

    ५१. सम्पती शुद्धीकरण अनुसन्धान विभागका डिजीलाई कञ्चटमा पेस्तोल भिराएको विषयमा काँग्रेसले माग्यो सरकारसँग जवाफ

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले मध्यराती पेस्तोल भिराएर सम्पती शुद्धीकरण विभागका महानिर्देशकलाई रेडकर्नर नोटिस जारी गराउन लगाइएको विषयमा सरकारसँग जवाफ माग गरेको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसद चन्द्रमोहन यादवले यस घटनाबारे सरकारसँग जवाफ माग गर्नुभएको हो । यसअघि सत्तारुढ दल रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद अमरेशकुमार सिंहले सरकारले राति १ बजे पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गर्न लगाउने जस्ता कार्य गरेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो । गत बिहीवारको सभाको बैठकमा सांसद सिहले भन्नुभएको थियो, ‘म यहाँ धेरै घटना उल्लेख गर्न चाहन्नँ कि सम्पती शुद्धीकरणको डीजीलाई बोलाएर कसैको कन्चटमा राति १ बजे पेस्तोल भिराइन्छ र भनिन्छ कि यसलाई २ घण्टाभित्र रेड कर्नर नोटिस जारी गर ।’

    ५२. सरकारले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको दाबी गरोस्ः एमाले

    नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको दाबी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न नेपालको योगदान न्युन भएपनि त्यसको परिणामस्वरूप नेपाल अग्रपंक्तिमा रहेर ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अध्ययन गरी अन्तर्राष्ट्रियस्तरमा नेपालको आवाज बलियो बनाउनुपर्नेमा सबै राजनीतिक दलहरु एकजुट हुन आह्वान पनि गर्नुभयो । 

    ५३. हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

    काठमाडौं उपत्यकाबाट विभिन्न मितिमा हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मंगलवार सम्बन्धित धनीलाई बुझाएको छ । मंगलवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लले ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै उहाँले अगामी दिनमा आफ्नो सवारी साधनमा सम्भव भएसम्म जिपिएस प्रणाली जडान गर्न आग्रह गर्नुभयो । उहाँले जिपिएस प्रणाली जडान गरिएको खण्डमा बाइक ट्र्याक गरी खोजी गर्न सहज हुने उहाँको भनाइ छ ।–न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १९:५६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij