Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

लिपुलेक–कालापानी–लिम्पियाधुराको नक्शा बोझ होइन : परराष्ट्रमन्त्री खनाल

लिपुलेक–कालापानी–लिम्पियाधुराको नक्शा बोझ होइन : परराष्ट्रमन्त्री खनाल


  • 939
    Shares

    लिपुलेक–कालापानी–लिम्पियाधुराको नक्शा बोझ होइन : परराष्ट्रमन्त्री खनाल
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्शा मुलुकको सार्वभौम दस्ताबेज भएको भन्दै यसलाई बोझ मान्न नसकिने बताएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदसँग मौखिक प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, सीमा रक्षा र राष्ट्रिय स्वाभिमानको संरक्षण कुनैपनि सरकारको सर्वोपरी र स्थायी जिम्मेवारी भएको स्पष्ट पनि पारेका छन् । उनले भारत भ्रमणका क्रममा आफूले प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ (पुरानो बोझ) भन्ने अभिव्यक्ति नेपालको राष्ट्रिय हित, सीमा र सार्वभौमसत्तासँग सम्बन्धित नभएको पनि बताएका छन्। उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ–हानिको औजार बनाउने विगतको अभ्यासलाई आफूले पुरानो बोझको रुपमान व्याख्या गरेको बताएका छन्।

    उनले सरकारले छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गरेका छन्। उनले आफ्नो अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा तथा ऐतिहासिक दस्तावेज संरक्षणप्रति लक्षित नभएको पनि प्रष्टिकरण दिएका छन् । 

    मन्त्री खनालले वर्तमान सरकार पूर्वाग्रह, संकीर्णता र अनावश्यक अविश्वासबाट मुक्त हुँदै पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई थप रुपान्तरणकारी दिशामा अघि बढाउन प्रतिबद्ध रहेको रहेको पनि बताएका छन् ।

    उनले भने, लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा र त्यसलाई अनुमोदन गर्ने संविधान संशोधन, संसदको सर्वसम्मत निर्णय तथा समग्र नेपाली जनताको साझा राष्ट्रिय संकल्प हो । यो हाम्रो संवैधानिक र सार्वभौम दस्तावेज हो जसलाई कुनैपनि सन्दर्भमा बोझ मान्न सकिँदैन । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, सीमानाको रक्षा र स्वाभिमानलाई अक्षुण्ण राख्ने विषय कुनै पनि सरकारको सर्वोपरी एवं स्थायी जिम्मेवारी हुने आउने व्यहोरा अनुरोध गर्न चाहन्छु । वर्तमान सरकार कुनै पनि पूर्वाग्रह, संकीर्णता र अनावश्यक अविश्वासको बन्दी नबनी पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा छिमेकी र मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई रुपान्तरणकारी दिशा दिन चाहन्छ ।’

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १७:३९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij