२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सांसद बोलिरहेका बेला गृहमन्त्री सुधन गुरुङ उठेर हिँडेको भन्दै प्रतिनिधिसभामा नियमापत्ति जनाएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सम्बोधन गरिरहेका बेला गृहमन्त्री गुरुङ सभामुखको आसन र बोलिरहेका सांसदको बीचबाट हिँडेका थिए। त्यसपछि एमाले प्रमुख सचेतक महरले सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउँदै नियमापत्ति जनाएका हुन्।
महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम ६ मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था रहेको स्मरण गराए।
‘युवराज दुलाल बोलिरहेको समयमा गृहमन्त्रीज्यू बीचबाट हिँड्नुभएको छ। यो प्रतिनिधिसभा नियमावलीको उल्लंघन हो,’ महरले भने।
उनले यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले समेत यस्तै नियम उल्लंघन गरेको दाबी गर्दै सदनको मर्यादा कायम राख्न सभामुखमार्फत ध्यानाकर्षण गराए।
प्रतिनिधिसभा नियमावलीमा बैठकमा बोल्ने सदस्यले सभामुखलाई सम्बोधन गर्नुपर्ने, सभामुखले समय दिएपछि मात्र बोल्नुपर्ने तथा सदस्यले बोलिरहेका बेला बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने कुनै गतिविधि गर्न नहुने व्यवस्था छ। साथै, सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट उल्लेख छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij