२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालय अनुगमन गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई सरकारी कार्यालय, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थामा धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि प्रहरीले उनलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ।
प्रहरीका अनुसार विश्वकर्माले आफू रास्वपाको नेता तथा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत रहेको बताएर सरकारी कार्यालयमा प्रवेश तथा सार्वजनिक सरोकारका बैठकमा पहुँच बनाउने गरेका थिए। उनले प्रधानमन्त्रीको सचिवालय सदस्य भएको दाबी गरेपछि जिल्ला प्रशासन कार्यालयबाट अनुगमनका लागि सरकारी गाडीसहितको सुविधा समेत पाएको प्रहरी स्रोतले जनाएको छ।
हल्दिबारी गाउँपालिकामा समेत सरकारी नम्बर प्लेटको गाडीमा पुगेर उनले पालिकाको विकासका विषयमा चासो राखेका थिए। गतिविधि शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गर्दा उनी रास्वपाको केन्द्रीय सदस्य नरहेको तथा प्रधानमन्त्रीको सचिवालयमा पनि नरहेको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार झुटो परिचय दिएर लाभ लिएको वा कसैलाई हानिनोक्सानी पुर्याएको भए प्रहरीमा जानकारी गराउन आग्रह गरिएको छ। सरकारी गाडी प्रयोगबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij