२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । प्रहरीले अवैध विद्युतीय चुरोट (भेप) सहित चार जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवैध रूपमा भेपको भण्डारण तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले काठमाडौं महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र महानगरपालिका–६ चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाममा छापा मार्दा २ हजार ७७० थान विद्युतीय चुरोट (भेप) बरामद गरेको जनाएको छ।
बरामद भेपसहित पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिका–१६ सतुङगल बस्ने २७ वर्षीय शुभम गुप्ता, काठमाडौं महानगरपालिका९३ बस्ने रामेछाप घर भएका १९ वर्षीय राजन मोक्तान र ललितपुर च्यासल बस्ने काभ्रे पाँचखाल नगरपालिका–९ घर भएका १९ वर्षीय सक्षम श्रेष्ठ रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij