२०८३ श्रावण ३० गते शनिवार
काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता एवं सांसद भीष्मराज आङदेम्बेले राज्यका प्रमुख अङ्ग र संवैधानिक निकायहरूबीच बढ्दो संवादहीनताले लोकतन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।
बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले यस्तो बताएका हुन् । नेता आङदेम्बेले कार्यकारी निकाय र संवैधानिक अंगहरूबीच समन्वयको अभाव हुनु अत्यन्तै संवेदनशील विषय भएको टिप्पणी गरेका छन् । उनले राज्य सञ्चालनका महत्त्वपूर्ण निकायहरूबीचको दूरीले व्यवस्थाप्रति नै नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सचेत गराएका छन् ।
सदनको कार्यप्रणालीका सम्बन्धमा चर्चा गर्दै उनले पछिल्लो समय संसद सञ्चालन व्यवस्थित हुने प्रक्रियामा रहे तापनि विगतका गतिरोध र त्यहाँ व्यक्त भएका अभिव्यक्तिहरूलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् । संसद्मा उठेका गम्भीर विषयहरूले उचित निष्कर्ष नपाउँदै नयाँ विधेयकहरू आउनुले थप गम्भीरता माग गरेको उनको भनाइ छ ।
नेता आङदेम्बेले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको कार्यशैलीप्रति पनि आलोचना गरेका छन् । मन्त्रीहरूबाट सार्वजनिक हुने जिम्मेवारीविहीन र लगामहीन अभिव्यक्तिले जवाफदेहिताको अभाव झल्काएको उनले आरोप लगाउका छन् । सरकारले विभिन्न पक्षसँग गर्ने सम्झौता र सहमतिहरू केवल नाटकका रूपमा देखिएको र घटनाक्रमहरू घट्नुको साटो थप जटिल बन्दै गएको उनले उल्लेख गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij