२०८३ श्रावण ३० गते शनिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना प्रकरणमा तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् । काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको सहकारी ठगीसम्बन्धी मुद्दामा उपस्थित हुन लामिछाने बिहीबार अदालत पुगेका हुन् ।
स्वर्णलक्ष्मी सहकारीको करिब १ अर्ब १९ करोड रुपैयाँमध्ये ५ करोड ७८ लाख ९६ हजार रुपैयाँ तत्कालीन अवस्थामा लामिछाने संलग्न रहेको गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको दाबी गरिएको थियो ।
अनुसन्धानका क्रममा सहकारीबाट प्रत्यक्ष रूपमा २ करोड ६६ लाख रुपैयाँ र विभिन्न व्यक्तिका नाममा फर्जी खाता प्रयोग गरी २ करोड १३ लाख ९६ हजार रुपैयाँ गरी कुल ५ करोड ७८ लाख रुपैयाँ गोर्खा मिडियामा गएको उल्लेख गरिएको थियो ।
यसअघि थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको आदेशअनुसार उनी नियमित रूपमा तारिख बुझ्न अदालत उपस्थित हुँदै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij