२०८३ श्रावण ३० गते शनिवार
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न माग गर्दै दायर गर्न खोजिएको रिट सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ । कानुनका विद्यार्थी विवेक चौधरीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई पेस गरेको रिट निवेदनलाई सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलको आदेशले बिहीबार दरपिठ गरेको हो ।
निवेदकहरूले प्रहरी कार्यालय, हिरासत तथा अनुसन्धान गर्ने सरकारी निकायका भवनका सबै भागमा नाइट भिजनसहित अडियो–भिडियो रेकर्ड हुने सीसीटीभी जडान गर्न माग गरेका थिए । साथै, पक्राउ परेको समयदेखि नै डिजिटल अभिलेख राख्ने व्यवस्था गर्न र सीसीटीभी फुटेज कम्तीमा १२ देखि १८ महिनासम्म सुरक्षित राख्न कानुनी मापदण्ड बनाउन परमादेश माग गरिएको थियो ।
तर सर्वोच्च प्रशासनले निवेदनमा उठाइएका विषय पुष्टि हुने पर्याप्त अध्ययन, अनुसन्धान वा आधिकारिक तथ्याङ्क तथा प्रमाण पेस नभएको भन्दै रिट दर्ता गर्न नमिल्ने ठहर गरेको हो । रजिस्ट्रार पोखरेलको आदेशमा सर्वोच्च अदालत नियमावली, २०७४ अनुसार आवश्यक आधार र कागजात नपुगेको उल्लेख गर्दै निवेदन दरपिठ गरिएको जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij