Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको २४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 785
    Shares

    आज दिनभरको २४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. शुक्रवारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता

    नेपाल सोतोकान कराते संघको आयोजनामा आगामी शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता भक्तपुरमा हुने भएको छ । सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा थिमी नगरपालिका–२ मा प्रतियोगिता हुने भएको हो । दुईदिने प्रतियोगितामा काता र कुमुतेतर्पm क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्पm प्रतिस्पर्धा हुनेछन् । संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारे जानकारी दिएको हो । कुल ४९ जिल्लाबाट पाँच सय जना खेलाडी छनोट गरी  प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागिएको नेपाल सोतोकान कराते संघका संस्थापक र अध्यक्ष हेमकुमार श्रेष्ठले जानकारी दिए । कुमुतेको मिनी सब जुनियर (५–९ वर्ष) तर्पm १५ केजी, २० केजीमूनि, २५ वर्षमुनि, ३० वर्षमुनि, ३५ वर्षमुनि र ३३ वर्षमुनि प्रतिस्पर्धा हुनेछन् ।

    २. नेता सुनिल शर्माले भनेः तपाईंहरुले जिताइसक्नुभयो, फागुन २१ त बाक्सा खोल्न पर्खिने दिन मात्रै हो 

    नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बदलिएको काँग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले काँग्रेस पूर्ण रुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनुपर्ने बताउनुभएको हो । उहाँले अब युवा काँग्रेस, विपी कोईरालाले कल्पना गर्नुभएको समावेशी, लोकतान्त्रिक काँग्रेस बनिसकेको बताउनु भयो । उहाँले नागरिकले दिने मत धेरै मूल्यवान रहेको भन्दै कुनै अन्योलमा नरपरी काँग्रेसलाई मतदान गर्न आह्वान गर्नुभयो । बदलिएको काँग्रेसले नै देश बदल्ने उहाँको जिकिर छ । विपीहरुले जोगाएको काँग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व अब नागरिकहरुको रहेको बताउनु भयो । उहाँले नागरिकले आफूलाई जिताएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै फागुन २१ गते मात्रै कुर्नुपरेको बताउनु भयो । 

    ३. देशभर कुहिरो र बादलः जनजीवन प्रभावित, हवाई उडान ठप्प

    काठमाडौं उपत्यकासहित देशभर आज बिहानदेखि बाक्लो कुहिरो र बादल लागेका कारण दैनिक जनजीवन प्रभावित बनेको छ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मौसम धुमिल बनेपछि सडक यातायात, हवाई उडान र स्थानीय बासिन्दाको दैनिकीमा ठूलो असर परेको हो । काठमाडौंमा बिहानैदेखि दृश्यता निकै कम भएको छ । कुहिरोका कारण सडकमा हिँडडुल गर्न कठिनाइ भएको । यसले दुर्घटनाको जोखिम बढाएको छ । धेरै बिहानको समयमा घरबाट बाहिर निस्कनै हिच्किचाएका छन् । हवाई यात्रुहरू सबैभन्दा बढी मारमा परेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोका कारण अधिकांश उडान ढिलो भएका छन् भने केही उडान रद्ध समेत भएका छन् । आन्तरिक उडानहरू पनि प्रभावित भएका छन् ।  यात्रुहरू विमानस्थलमा लामो समय प्रतिक्षा गर्न बाध्य भएका छन् । 

    ४. प्रचण्डले विप्लवलाई भनेः ‘यताउता नभौँतारिनुस्, एकतामा आउनुस्’ 

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)लाई पनि एकता प्रक्रियामा आउन आग्रह गनुभएको छ । बुधवार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताउनु भयो । उहाँले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारमा फर्किन आह्वान गर्नुभयो । समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्नुहुँदै उहाँले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भएपनि त्यो सफल हुन नसकेको बताउनु भयो । जेन–जी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको टिप्पणी छ ।

    ५. संसद र प्रदेश सभामा सदस्य संख्या घटाउने गरी घोषणापत्र तयार गर्न सुझाव

    नागरिक समाजका संघसंस्थाहरुले संसद र प्रदेश सभामा सदस्य संख्या घटाउने गरी घोषणापत्र तयार गर्न राजनितिक दलहरुलाई सुझाव दिएका छन् । बुधवार पत्रकार सम्मेलन गरी १६ वटा सामाजिक संघसंस्थाहरुले सामुहिक रुपमा दलहरुले घोषणापत्रमा समेटिनुपर्ने विषयका बारेमा सुझाव दिएका हुन् । राजनीतिक दलहरूलाई घोषणापत्रमा नागरिक अधिकार, सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धि र समावेशितासँग प्रत्यक्ष सम्बन्धित विषय समावेश गर्न उनीहरुले अपिल गरेका छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन, २०८२ लाई केवल नियमित निर्वाचन नभई लोकतन्त्रको दिशा तय गर्ने ऐतिहासिक अवसरको रूपमा लिन नागरिक समाजले राजनीतिक दलहरूलाई आग्रह गरेको छ । आर्थिक विकासका लागि रोजगारी सिर्जना, नवप्रवद्र्धन, प्रविधिमैत्री उद्योग, स्वदेशी उत्पादन प्रवद्र्धन, कृषि सुधार, साना व्यवसाय र स्थानीय उत्पादनलाई प्रोत्साहन तथा गरिबी निवारणका लागि कार्यान्वयनयोग्य योजना र बजेट सुनिश्चित गर्न आग्रह गरिएको छ । 

    ६. अफगान सरकारद्वारा ८० हजार फर्केका परिवारका लागि सहायता कार्यक्रम शुरु

    अफगान सरकारले देशभरका ८० हजार फर्केका आप्रवासी परिवारहरूलाई नगद सहयोग र खाद्यान्न रासन उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । देशका प्रधानमन्त्रीका प्रशासनिक उपप्रमुखले यस्तो घोषणा गर्नुभएको हो । मौलवी अब्दुल सलाम हनफीले उत्तरी प्रान्तहरूको भ्रमणका क्रममा यो घोषणा गर्नुभयो । उहाँले जोज्जान प्रान्तमा २ हजार २ सय योग्य फर्केका परिवारहरूलाई नगद सहायता र खाद्यान्न आपूर्ति वितरणको आधिकारिक रूपमा शुरुवात गर्नुभयो । हनफीले बाल्ख प्रान्तमा पनि सोही कार्यक्रम शुरु गर्नुभएको छ । उहाँले सरकारले फर्केका आप्रवासीहरूलाई विशेष प्राथमिकता दिइरहेको र देशभरका ८० हजार परिवारलाई नगद र खाद्यान्न सहायता विस्तार गर्ने बताउनु भयो । वित्तीय र खाद्यान्न सहयोगका अतिरिक्त, प्रत्येक योग्य फर्केका परिवारले आफ्नो गृह प्रान्तमा एक घडेरी आवासीय जग्गा प्राप्त गर्नेछन् । 

    ७. अफगानिस्तानले फलफूल निर्यातबाट १४ करोड २० लाख अमेरिकी डलर कमायो

    अफगानिस्तानको उद्योग तथा वाणिज्य मन्त्रालयले गत वर्ष देशले ३ लाख १७ हजार ५१७ टन ताजा फलफूल निर्यात गरेको छ । यसबाट करिव १४ करोड २० लाख अमेरिकी डलर आम्दानी भएको जनाएको छ । स्थानीय टोलो न्यूजका अनुसार निर्यात गरिएका फलफूलहरूमा स्याउ, अनार, खुर्पानी, अंगुर, खरबुजा, तरबुजा र अन्जिर समावेश थिए । यी उत्पादनहरू संयुक्त अरब इमिरेट्स, टर्की, पाकिस्तान, युरोप र मध्य एशियाका बजारहरूमा पुगेका छन् । कृषि तथा पशुपंक्षी चेम्बरले व्यापारिक मार्ग बन्द हुनु र उच्च ढुवानी लागतले निर्यातमा चुनौती खडा गरेको उल्लेख गर्दै चाबहार र बन्दर अब्बास जस्ता वैकल्पिक बन्दरगाहहरूको प्रयोग गर्न प्रोत्साहन गरिएको रिपोर्टमा उल्लेख छ । 

    ८. टर्किए र नाइजेरियाबीच व्यापार तथा सुरक्षा सहयोगलाई थप प्रगाढ बनाउने प्रतिवद्धता

    टर्किए र नाइजेरियाले ५ अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार परिमाणमा पुग्ने आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गरेका छन् । सुरक्षा, ऊर्जा तथा विकासमा सहयोगलाई थप प्रगाढ बनाउन सहमत भएको टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा बताउनु भयो । एर्दोगान र भ्रमणमा रहेका नाइजेरियाली राष्ट्रपति बोला टिनुबुबीचको भेटवार्तापछि यो घोषणा गरिएको हो ।  एर्दोगानले आतंकवादविरुद्धको लडाइँमा टर्किए नाइजेरियाको साथमा रहेको र दुवै पक्षले सैन्य प्रशिक्षण र गुप्तचर जानकारी आदानप्रदानमा थप निकट सहयोगको मूल्याङ्कन गरिरहेको बताउनु भयो । 

    ९.टर्किएद्वारा ईयू भन्सार संघ अद्यावधिक र भिसा उदारीकरणको खोजी

    टर्कियेको युरोपेली संघसँगको सम्बन्धमा प्रमुख प्राथमिकताहरू भन्सार संघ सम्झौतालाई अद्यावधिक गर्ने र भिसा उदारीकरणलाई अगाडि बढाउनु रहेको परराष्ट्र मन्त्री हाकान फिदानले बताउनुभएको छ । 
    उहाँले ब्लकसँगको सम्बन्धमा रहेका निरन्तर अवरोधहरूतर्फ पनि संकेत गर्नुभयो । फिदानले वार्ता द्विपक्षीय व्यापार, आर्थिक र राजनीतिक सम्बन्धलाई गहिरो बनाउने उपायहरूका साथै टर्किये–ईयू सम्बन्धका बाधाहरू हटाउनमा केन्द्रित रहेको बताउनु भयो । उहाँले अंकारा र पेरिसले प्रक्रियालाई अगाडि बढाउन ठोस कदमहरूका बारेमा विचार आदानप्रदान गरेको र अन्य बाँकी मुद्दाहरूमा छलफल गरेको बताउनु भयो । युरोपेली सुरक्षा पनि एक प्रमुख विषय थियो । फिदानले दुवै देशहरूले गठबन्धन र युरोपको वृहत्तर सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । 

    १०. टर्कीमा सुरक्षाकर्मीद्वारा ३४८ केजी लागुऔषध बरामद

    टर्कीको हाक्कारी प्रान्तमा गरिएको एक समन्वयात्मक कारबाहीका क्रममा त्यहाँको सुरक्षा फौज (जेन्डार्मरी) ले ३४८ किलो लागुऔषध बरामद गरेको छ । गृहमन्त्री अली येर्लिकायाले यस विषयमा जानकारी दिनुभएको हो । खुफिया सूचनाका आधारमा गरिएको उक्त कारबाहीमा युक्सेकोवा जिल्लाको ग्रामीण भेगबाट ३३२ केजी स्कंक र १६ केजी मेथाम्फेटामाइन बरामद गरिएको मन्त्री येर्लिकायाले बताउनु भयो । उहाँले लागुऔषध कारोबारीका नाइके र प्रवन्धकदेखि सडक तहका वितरकसम्मको आपूर्ति सञ्जालका प्रत्येक कडीलाई तोड्न र ध्वस्त पार्न सरकारले छुट्टाछुट्टै अपरेशनहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो । टर्की लामो समयदेखि अन्तर्राष्ट्रिय लागुऔषध ओसारपसार विरुद्ध संघर्षरत छ र त्यहाँका सुरक्षा निकायहरूले लागुऔषधको दुरुपयोग र तस्करी रोक्न नियमित रूपमा यस्ता कारबाहीहरू सञ्चालन गर्दै आएका छन् । 

    ११. डेमोक्र्याट्सद्वारा महाभियोगको धम्कीका बाबजुद डीएचएस सचिवले राजीनामा नदिने ट्रम्पको स्पष्टोक्ति

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार डेमोक्र्याट्सले महाभियोग प्रक्रिया शुरु गर्ने धम्की दिएपनि गृह सुरक्षा विभाग (डीएचएस) सचिव क्रिस्टी नोएमले पदबाट राजीनामा नदिने बताउनुभएको छ । नोएमले पद छाड्ने हुन् कि भन्ने प्रश्नमा ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नछोड्ने बताउनु भयो । हालैका दिनहरूमा मिनियापोलिसमा सुरक्षाकर्मीको गोली लागेर दुई अमेरिकी नागरिकको मृत्यु भएपछि नोएममाथि दबाब बढ्दै गएको छ । उनले पीडितहरूलाई आन्तरिक आतंकवादको कार्यमा संलग्न भएको भनी टिप्पणी गरेपछि विवाद चर्किएको हो । जुन दाबीलाई भिडियो प्रमाणले पुष्टि गर्दैन । 

    ११. दक्षिण कोरियाद्वारा ट्रम्पको भन्सार वृद्धि योजनाबारे आधिकारिक जानकारी प्राप्त नभएको पुष्टि

    दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले मङ्गलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दक्षिण कोरियाली वस्तुहरूमा भन्सार १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउने योजना घोषणा गरे पनि वासिङ्टनबाट कुनै आधिकारिक सूचना प्राप्त नभएको बताएको छ । कार्यालयले यस विषयमा छलफल गर्न आजै एक अन्तर–एजेन्सी बैठक आयोजना गरिने थप जानकारी दिएको छ । हाल क्यानडाको आधिकारिक भ्रमणमा रहेका व्यापार, उद्योग तथा स्रोत मन्त्री किम जुङ–क्वानले पनि यस विषयमा अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकसँग छलफल गर्न चाँडै संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने योजना बनाउनुभएको छ । ट्रम्पले सोमवार दक्षिण कोरियाको व्यवस्थापिकाले संयुक्त राज्य अमेरिकासँगको द्विपक्षीय व्यापार सम्झौता लागू नगरेको आरोप लगाउँदै निश्चित दक्षिण कोरियाली उत्पादनहरूमा भन्सार वृद्धिको घोषणा गर्नुभएको थियो । 

    १२. मस्कोस्थित होस्टेलमा आगलागी हुँदा चार जनाको मृत्यु, ६ घाइते

    मस्को नजिकैको बालासिखा शहरस्थित एउटा होस्टेलमा मंगलवार भएको भीषण आगलागीमा परी चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार मस्को क्षेत्रीय अनुसन्धान समितिले उक्त आगलागी निजी स्वामित्वमा रहेको तीन तले भवनको दोस्रो तलाबाट शुरु भई करिव ३५ वर्ग मिटर क्षेत्रमा फैलिएको थियो । अग्निनियन्त्रकहरूले उद्धारका क्रममा दुई पुरुष र दुई महिलाको शव फेला पारेका थिए । घाइते हुने ६ जनामध्ये दुई बालबालिका र एक १५ वर्षीय किशोर रहेका छन् । प्रारम्भिक अनुसन्धानले आगोको लापरवाहीपूर्ण प्रयोगका कारण आगलागी भएको हुनसक्ने देखाएको छ । भवनलाई अवैध रूपमा आवासका लागि भाडामा दिइएको हुनसक्ने आशंका गर्दै अनुसन्धानकर्ताहरूले लापरवाहीका कारण मृत्यु गराएको अभियोगमा आपराधिक मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएका छन् । 

    १३. निर्वाचनपछि बन्ने सरकारका लागि सुशासन र भ्रष्टाचारविरुद्धको मार्गचित्र तयार हुँदै

    अगामी २१ फागुनको निर्वाचनपछि बन्ने सरकारको लागि सुशासन र भ्रष्टाचारमुक्त समाज स्थापना गर्न आवश्यक कानुनी, प्रशासनिक र संरचनागत सुधारसहितको मार्गचित्र निर्माण गर्न थालिएको छ । नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह सुधार, कर्मचारीतन्त्रको कार्यशैली परिवर्तन एवं एकद्वार सूचना प्रणालीको विकासलाई केन्द्रमा राखेर सरकारले अगामी निर्वाचनपछि बन्ने सरकारको लागि कार्ययोजनाको गृहकार्य अघि बढाएको हो । बुधवार काठमाडौंमा एक कार्यशालाको आयोजना गर्दै सरकारका सचिव एवं सहसचिवहरुको राय समेत लिइएको छ ।  नेपालको भविष्यको सुशासन र डेलिभरीका लागि कर्मचारीतन्त्र र सरकारको काम समेतको मार्गचित्र तयार पारिने बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित शासकीय सुधार महाशाखाका प्रमुख भिष्म भुसालले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नकेो लागि कुन निकायले के गर्ने ? कसरी गर्ने स्पष्ट दिशननिर्देशसहित कार्ययोजना निर्माण गरिने बताउनु भयो ।

    १४. मुलुकको अर्थतन्त्र सुदृढ बनाउन तालिम र सीपलाई आयसँग जोड्न आवश्यकः कार्यवाहक प्रमुख डंगोल

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । बुधवार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नागरिकको सिपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने उहाँको भनाइ छ । उहाँले  सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला महोत्सवहरु आयोजना गरिरहनु जरुरी रहेको पनि बताउनु भयो । उहाँले सबै प्रकारका तालिम उत्पादन, रोजगारी र व्यक्तिको आयसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिनुभयो । 

    १५. आसन्न निर्वाचनमा राष्ट्रको अस्तित्व जोगाउन सबै शक्तिहरु एकढिक्का हुनुपर्छः चित्रबहादुर केसी

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमा भ्रम छर्नेहरुबाट सचेत रहन आम मतदातालाई आह्वान गर्नुभएको छ । नयाँका नाममा नक्कली कुरा गर्ने र जनतामा भ्रम छर्नेहरु पनि निर्वाचनको मुखमा देखिएको उल्लेख गर्दै उहाँले उनीहरुबाट सचेत भएर मतदान गर्न आम मतदातालाई आग्रह गर्नुभएको हो । बुधवार बुटवलमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले मुलुकको अस्तित्व जोगाउने कुरामा सबैलाई एकतावद्ध हुन पनि सचेत गराउनु भयो । उहाँले विगतमा पनि भ्रम छर्ने र चोटिका कुरा गर्नेहरुलाई सांसद बनाएको उल्लेख गर्दै आगामी निर्वाचनमा उनीहरुले जिताउने गल्ती मतदाताहरुले गर्न नहुने बताउनु भयो । 

    १६. निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदाताले मतदान गर्ने व्यवस्था सरकारले मिलाउनु पर्छः सोनम गेल्जेन शेर्पा

    नेकपा (एमाले) का राष्ट्रियसभाका सांसद सोनम गेल्जेन शेर्पाले आसन्न निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदातालाई मतदान हुने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । चिसोका कारण प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचनमा हिमाली क्षेत्रका करिव ६० प्रतिशत मतदाताहरु मतदानमा सहभागी हुन नपाउने अवस्था भएकाले उनीहरुलाई पनि मतदानमा सहभागी गराउनका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने सांसद शेर्पाको भनाई थियो । बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सबै मतदातालाई मतदानमा भाग लिन पाउने अधिकारबाट वञ्चित गराउने काम उचित नहुने समेत बताउनु भयो । 

    १७. बालेनलक्षित काँग्रेस सांसद भट्टको टिप्पणीः देश जलाउनेहरुबाट कुनैपनि खालको अपेक्षा गर्न सकिँदैन

    नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्नुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले साहले भदौ २४ गते देशलाई खरानी बनाउने कामको नेतृत्व साहले गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फर्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताउनु भयो । सांसद भट्टले साहले काठमाडौं महानगरपालिकाको जिम्मेवारी पूरा नगरेकोमा पनि आपत्ति जनाउनु भयो । एउटा जिम्मेवारी पूरा नहुँदै अर्को जिम्मेवारी जाने, पत्रकारको नाममा मन्त्री बन्ने अनि सांसद बन्ने खोज्नेहरुले संविधान बनाउने, देश र जनताका लागि रगत, पसिना बगाउने नेताहरुलाई पुराना भनेर अर्ति उपदेश दिने काम कुनै पनि हालत जायज नभएको उहाँले जिकिर गर्नुभयो । 

    १८. राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश

    राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८१÷०८२ वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरिएको छ । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिकी सभापति कमला पन्तले सो प्रतिवेदन प्रश्तुत गर्नुभएको हो । सो अवसरमा उहाँले सरकारलाई जवाफदेही र उत्तरदायी बनाउनका लागि सो प्रतिवेदन सभामा पेश गरिएको बताउनु भयो । प्रतिवेदनमा नेपाललाई अतिकमविकसित राष्ट्रबाट विकाशशील राष्ट्रमा परिणत गर्न, जलवायु परिवर्तनले पारेका असर न्युनिकरणका लागि ठोस कदम चाल्न पनि सरकारलाई सचेत गराउने लगायतका विषयहरु समावेश गरिएको छ । 

    १९. राष्ट्रिय सभामा सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको वार्षिक प्रतिवेदन पेश

    सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति मायाप्रसाद शर्माले सो प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदनमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितलाई आवश्यक राहतको व्यवस्था गर्ने काममा ढिलाई नगर्न सरकारलाई सचेत गराइएको छ । त्यसैगरी समितिले पुरानो संसद भवन प्रवलीकरणमा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरिएको समितिका सभापति शर्माले बताउनु भयो ।

    २०. सामाजिक सञ्जालमार्फत निर्वाचनमा गलत सन्देश दिने उम्मेदवारहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्छः मदनकुमारी साह

    नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाकी प्रमुख सचेतक मदनकुमारी साह गरिमाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सामाजिक सञ्जालमा गलत र भ्रामक समाचार प्रवाह गर्ने व्यक्ति र उम्मेदवारलाई तत्काल कारबाही गरी निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारसँग माग गर्नु भएको हो । प्रमुख सचेतक साहले गलत सन्देशमा भरमा नपर्न आम मतदातालाई पनि अपिल गर्नुभयो । 

    २१. २० अर्ब निक्षेप तान्दै राष्ट्रबैंक

    नेपाल राष्ट्र बैंकले (आज) बुधवार २० अर्ब निक्षेप तान्दैछ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७६ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

    २२. अर्थमन्त्री खनालको चेतावनीः सम्पती शुद्धीकरणका अपराधीको सम्पत्ति जफत गर्न ढिलाइ नगरौँ

    अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय संस्थाहरू एफएटिएफ (फाइनान्सियल एक्सन टास्क फोर्स) र एपीजी (एसिया प्यासिफिक ग्रुप) का प्रतिनिधिहरूले नेपालको प्रगतिप्रति चासो व्यक्त गरिरहेको सन्दर्भमा आज सम्पत्ति शुद्धिकरण विभागले गरेको एक कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभयो । उहाँका अनुसार, नेपालको यस विषयमा गरेको प्रगति अझै पनि कमजोर रहेकाले ग्रेलिस्टबाट बाहिर आउन कठिन रहेको बताउनु भयो । उहाँका अनुसार एफएटिएफ र एपीजीका प्रतिनिधिहरूले नेपालको प्रयास सन्तोषजनक नभएको बताइरहेका छन् । 

    २३. एकैदिन आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढ्यो

    एकैदिन आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले  बुधवार तोलामा छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ तोकेको हो । मंगलवार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ७ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलवार एक तोला चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको व्यवसायीहरुले बताउँदै आएका छन् । 

    २४. विगतमा राज्यसंयन्त्र निकम्मा हुँदा सहकारीका वचतकर्ताको रकम डुबेको होः मन्त्री इङ्नाम

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले विगतमा सरकारी निकायहरुले सहकारीमाथि कडा नियमन गर्न नसक्दा सहकारीहरु डुब्ने स्थिति आएको बताउनुभएको छ । राष्ट्रिय सहकारी प्राधिकरणको वार्षिकोत्सवका अवसरमा उहाँले राज्यले सहकारीहरुमाथि कडा नियमन गर्न नसक्दा बचतकर्ताको अबँैँ डुबेको बताउँदै यसको जिम्मा राज्यले नै लिनुपर्ने बताउनु भयो । उहाँले राज्य आम नागरिकको जिम्मेवार निकाय भएकाले नागरिकको सम्पती सुरक्षणको जिम्मा राज्यले लिनैपर्ने बताउनु भयो । इङ्नामले सहकारीमा वचत गर्नेहरु मात्रै नभई ऋणीहरु समेत डुबेको बताउनु भयो । मन्त्री इङ्नामले सहकारी सञ्चालकहरुले राज्य संयन्त्रसम्मै  पहुँच पु¥याइ बद्मासी गरेका कारण आज सहकारीमा चरम बेथिति आएको बताउनु भयो । उहाँकाअनुसार सहकारीमा बचतकर्तामात्रै नभइ ऋणी समेत डुबिरहेको अवस्था छ । न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :माघ १४ २०८२ बुधवार - १९:३४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij