२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतको मौनताप्रति आलोचना गरेका छन् । मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले अदालत ‘शीतकालीन कोइली’ जस्तै मौन बसेको टिप्पणी गरेका हुन्।
हाल देशमा संविधान छ कि छैन भन्ने अन्यौल नै रहेको उनले बताएका छन् । उनले प्रधानमन्त्री र मन्त्रीहरू भएपनि उनीहरुलाई संविधानले पहिचान गर्न नसकेको उल्लेख गरेका छन् । सांसद मिश्रले संविधानको व्याख्या र स्पष्टता दिने जिम्मेवारी सर्वोच्च अदालत मौन बसेको उल्लेख गर्दै अदालतको न्यायिक सक्रियतामाथि प्रश्न उठाएका छन् ।
उनले जेनजी आन्दोलनका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको उल्लेख गर्दै जातीयता र क्षेत्रीयताको आधारमा राजनीति गर्ने प्रवृत्तिलाई अन्त्य गरी युवाहरूमा कर्तव्यवोध बढेको देखिएको उनले बताएका छन्। तर आन्दोलनका क्रममा तोडफोड र आगजानीलाई वैधानिक र वैचारिक संघर्षको विकल्पका रूपमा स्थापित गर्ने गलत परम्पराको विकास हुनसक्नेप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij