२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको कोरोना संक्रमणका कारण ३२ वर्षको अल्पायुमै निधन भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि तीन हप्तादेखि रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेलमा उपचाररत बस्नेतको आज दिउँसो उपचारकै क्रममा निधन भएको हो ।
स्वर्गीय बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् । दाङको बबई गाउँपालिका–४ निवासी पत्रकार बस्नेत एक दशकदेखि दाङमा रही पत्रकारितामा सक्रिय थिए ।
दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरका रुपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य थिए ।
यसैबीच, पत्रकार बस्नेतको असामयिक निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासंघका महासचिव रोशन पुरीले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनले भनेका छन्, ‘महासंघ स्वर्गीय पत्रकार बस्नेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।’
कोरोनाकै कारण हालसम्म १४ जना पत्रकारको निधन भएको छ भने ८ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij