२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक बोलाएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको भेटवार्ता पछि देउवाले चार बजेका लागि पदाधिकारीसहित पूर्व पदाधिकारी बैठक बोलाएका हुन् ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले ४ बजेका लागि पदाधिकारी बैठक डाकिएको जानकारी दिए । केही बेरअघि भएको जसपा अध्यक्ष ठाकुर र महतोसँगको भेटपछि प्रतिपक्षमा रहेका दलहरू एक भएर सरकार बनाउने सम्भावना बढेको बताइन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई समय दिएकी छन् ।
पदाधिकारी बैठकपछि राष्ट्रपति समक्ष सरकारको नेतृत्वका लागि देउवाले दाबी पेस गर्न जाने तयारी भएको काँग्रेस उच्च स्रोतले जनाएको छ ।
सत्तारुढ एमालेमा माधव नेपाल समूहलाई फकाउने प्रयास अध्यक्ष केपी ओलीले सुरु गरेपछि राजनीतिको कोर्स बदलिने सम्भावना बढ्दै गएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij