२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । कर्मचारी आन्दोलनका कारण डेढ महिनाभन्दा बढी समयदेखि ठप्प रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि नियमित रूपमा सुरु भएको छ । अर्थ मन्त्रालयले कर्मचारीको सेवा सुविधा कटौती हुनेगरी पठाएको पत्र पठाएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूको माग पूरा गर्नेगरी सहमति भएसँगै उक्त बोर्डको नियमित कामकारबाही सुचारु भएको हो ।
आजदेखि बोर्डका सबै कर्मचारीहरू नियमित काममा फर्किएको नेपाल धितोपत्र कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले बताएका छन् । उनले एक साताभित्र माग पूरा नभए आफूहरू फेरि आन्दोलनमा फर्किनसक्ने अवस्था समेत रहेको बताएका छन् ।
आइतबार बोर्डका मन्त्रालयले बोर्डलाई पठाएको पत्रबारे अध्ययन गर्न एउटा समिति गठन गर्ने सहमति जुटेको थियो ।
बोर्डको कामकारबाही सुरु भएसँगै रोकिएका शेयर निष्कासन अनुमति तथा बोर्ड अन्तर्गतका निकायको नियमित काम कारबाही सुरु हुनेछ । अहिले धितोपत्र बोर्डमा ७४ वटा कम्पनीको ५४ अर्ब १५ करोड बढीको आईपीओ निष्कासनको प्रतीक्षामा रहेका छन् भने पौने ६ अर्बको हकप्रद शेयर तथा झन्डै २३ करोडको एफपीओ समेत निष्कासनको प्रतीक्षामा छन् ।
आफ्ना माग पूरा गर्न बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग्दै आएका कर्मचारीहरूले यो मागलाई होल्ड गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij