२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । गीतले प्रेममा टुटेका आशा र एक्लोपनको बन्धन बोलेको छ । नारायण सुवेदी ‘आभास’को स्वर तथा समीप आचार्यको शब्द र संगीतमा सार्वजनिक भएको गीत “भो यो माया” ले यही यथार्थलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरेको अनुभूति गीत हेर्दा तथा सुन्दा महशुष हुन्छ ।
उदयराज पौडेलको एरेञ्जमेन्ट, किशोर थापाको मिक्सिङ,मास्टरिङ र मोनीश चाम्लिङको रेकर्डिङले गीतलाई पूर्णता दिएको छ । साथै, सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीकेको बेजोड वाद्य संयोजनले गीतमा मौलिकता थपेको छ ।
भिडियो तर्फ कलाकारहरु किरण तामाङ र ललिता थापाले प्रेम र पीडाको मार्मिक कथा प्रस्तुत गरेका छन् । कर्ण बहादुर खड्काको छायाँकन, सुन्दर क्षेत्रीको सम्पादन र मिना बुढाथोकी सावित्रीको निर्देशनले यो भिडियोलाई उत्कृष्ट कलाकृति बनाएको छ ।
गीतकार आचार्यले गीतमा कहिले मायालुको छायाँमा नै हराउने, कहिले त्यहि मायामा छलकपट भेटिने, कहिले बाटो विराएर भौतारिने त कहिले मायामा गरिएका बाचा बन्धनमा दरार आउने जस्ता अवस्थाहरूलाई बिम्ब र प्रतीकमार्फत उजागर गरेका छन् । गीतमा प्रेममा धोका पाएको पात्रको पीडालाई भावनात्मक रूपमा व्यक्त गरिएको छ जसले श्रोतालाई प्रेमको मीठाससँगै त्यसले ल्याउने पीडा र बिछोडको गहिरो यथार्थमा डुबाउँछ।
गीत ‘भो यो माया’ मा प्रेमको बाटोमा आएको भ्रम र दिशाहीनतालाई प्रष्टाइएको छ । प्रेमको यात्रा सधै एकनासको हुदैन, विभिन्न आरोह अवरोहहरु आउँछन् तर सहजतामा रमाउने र असहजतामा साथ छोड्ने गर्दा प्रेमिल मनमा पिडावोध हुन्छ, प्रेममा उकालो जस्तो कठिन र ओरालो जस्तो सहज परिस्थिति दुवै हुन सक्छ तर बाटो हराउँदा त्यसले पीडा मात्र दिन्छ । सहज, असहज दुवै परिस्थितिमा प्रेमिल रहन सके मात्र प्रेम सफल हुन्छ भन्ने सन्देश पनि गीतमा रहेको छ ।
मंसिरमा बिहे गर्ने कुरा, चाडै फर्कि आउने कुराले मनमा एउटा दरिलो विस्वास दिलाएको थियो तर दिएको वाचा र त्यसको टुटाईले सम्वन्धमा ठुलो खाडल परेको छ जुन भावलाई गीतमा अत्यन्त मार्मिक रूपमा व्यक्त गरिएको छ । प्रेमको यात्रा यति कठिन भइसकेको छ कि अब सहन सक्ने शक्ति सकिएको अनुभूति भएको छ । मायामा ‘आफै रुनु पर्ने’ अवस्था ले मायामा साथको अपेक्षा भए पनि अन्ततः एक्लै पीडा भोग्नुपर्ने बास्तविकता र विडम्बना दर्शाइएको छ । माया निस्वार्थ हुनु पर्छ, समर्पित भाव हुनु पर्छ, मायामा छलकपट हुनु हुदैन मायामा हुने ‘छल’ ‘जालझेल’ ले मायामा धोका भएको जनाउँछ भने मायामा आउने ‘भल’ ले अप्रत्याशित घटना, बिपरीत परिणाम वा नसोचेको चोटको अर्थ दिन्छ। गीतले यी भावहरुलाई प्रष्ट गरेको छ ।
गीतले प्रेमको आकर्षण र विछोडको अप्रिय सत्य दुबैलाई प्रस्तुत गरेको छ । माया सुरुवातमा मीठो खेल जस्तो लागे पनि अन्त्यमा यसले जेलझैँ बाँध्छ, पिर र आँसु मात्र दिन्छ । सत्य यहि हो कि माया सजिलो हुँदैन र यसबाट टाढा हुनु नै मुक्ति हो । गीतका हरफहरूले प्रेमको मीठासभन्दा बढी प्रेमले दिने पीडा, धोका र निराशाको गहिरो अनुभूतिको चित्रण गरेको छ । गीतकारले प्रेमलाई अनेकौं रूपमा सम्बोधन गर्दै यसको असली अनुहार उघारेका छन् ।
गीत सुन्दै जाँदा, श्रोता स्वयं प्रेमको मीठो सुरुवातबाट तीतो अन्त्यसम्मको यात्रामा सहभागी भएको अनुभूति हुन्छ ।’भो यो माया’ केवल एउटा गीत मात्र होइन, धेरैले भोग्ने अधूरा प्रेमकथाको सामूहिक स्वर हो जहाँ मायाले सुरुवातमा सपनाको संसार सजाउँछ तर अन्त्यमा आँसु, विरह, बेदना र सम्झनाको बन्धन बाँधेर हृदयलाई कैदी बनाइदिन्छ । गीतको सम्पूर्ण संरचना प्रेमको एउटा चक्र आशा, विश्वास, धोका र पीडालाई गहिरो भावमा खिचेको छ। समीप आचार्यको शब्द र संगीतमा नारायण सुवेदी आभासको स्वर मिसिँदा ‘भो यो माया’ श्रोताको मनमा लामो समयसम्म गुञ्जिरहने गीत बनेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij