२०८३ बैशाख ८ गते मंगलवार
काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले रोल्पाको थवाङ गाउँपालिकामा आगामी वैशाख १९ र २० गते ‘प्रगतिशील सङ्गीत उत्सव-२०८३’ आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रोल्पा कला साहित्य प्रतिष्ठानसँगको सहकार्यमा प्रगतिशील सङ्गीत उत्सव–२०८३ आयोजना गरिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानकी सदस्य सचिव एवं कार्यक्रम संयोजक कुश्मा महराले गीत सङ्गीतमार्फत सामाजिक चेतना अभिवृद्धि, सांस्कृतिक एकता सुदृढीकरण तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्यसहित उत्सव आयोजना गर्न लागिएको बताइन् ।
प्रगतिशील सङ्गीत उत्सव सांस्कृतिक दृष्टिले महत्वपूर्ण राष्ट्रिय कार्यक्रम रहेको पनि उनको भनाइ छ । दुई दिनसम्म चल्ने उत्सवको पहिलो दिन उद्घाटनसँगै प्रगतिशील कलाकारहरूको सांगीतिक प्रश्तुति रहनेछ भने दोस्रो दिन संवाद, अन्तरक्रिया, कार्यशाला र प्यानल छलफल आयोजना गरिने महराले बताइन् ।
उनका अनुसार उत्सवमा देशभरका प्रगतिशील कलाकार, सांस्कृतिक समूह, शोधकर्ता, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहनेछ । उनले ऐतिहासिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिएको रोल्पाको थवाङमा उत्सव आयोजना गर्दा स्थानीय सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न टेवा पुग्ने विश्वास समेत व्यक्त गरिन् । उत्सवले पर्यटन प्रवद्र्धन र प्रगतिशील सङ्गीतमार्फत सामाजिक रूपान्तरणमा योगदान पु¥याउने आयोजकको विश्वास छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij