२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०८१ साउनदेखि २०८२ असारसम्म नेपालले १२७ देशसँग व्यापार घाटा व्यहोरेको छ । विभिन्न उत्पत्ति मुलुकबाट आएका मालवस्तुका आधारमा यस्तो अवस्था देखिएको हो ।
यो अवधिमा नेपालले १६४ देशसँग व्यापार गरेको थियो भने त्यसमध्ये बाँकी रहेका ३७ देशसँगको व्यापारमा मात्रै नाफा रहेको भन्सार विभागले जानकारी दिएको छ ।
तथ्याङ्कअनुसार नेपालले कुल १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ। यसले गर्दा देशले कुल १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँको विशाल व्यापार घाटा व्यहोरेको छ।
नेपालको व्यापार घाटा बढाउनमा दुई छिमेकी मुलुक भारत र चीनको सबैभन्दा ठुलो भूमिका देखिएको छ। सबैभन्दा बढी व्यापार घाटा भारतसँग रहेको छ भने नेपालले भारतबाट १० खर्ब ७१ अर्ब १९ करोड रुपैयाँको आयात गर्दा जम्मा २ खर्ब २४ अर्ब ६८ करोड रुपैयाँको मात्र निर्यात गर्न सकेको छ। यसबाट भारतसँग ८ खर्ब अर्ब ४६ करोड ५४ लाख रुपैयाँको घाटा देखिएको छ।
त्यसै गरी, चीनबाट ३ खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट चीनतर्फको निर्यात केवल २ अर्ब ६३ करोड रुपैयाँमा सीमित रहेको छ। चीनसँग मात्र ३ खर्ब ३८ अर्ब ४७ करोड रुपैयाँको घाटा देखाएको छ ।
भारत र चीनसँगको कुल घाटा मात्रै ११ खर्ब ८५ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ, जुन कुल व्यापार घाटाको ठुलो हिस्सा हो।
भारत र चीनबाहेक बढी व्यापार हुने मुलुकहरूमा अर्जेन्टिना, युक्रेन, संयुक्त अरब इमिरेट्स (युएई), इन्डोनेसिया, थाइल्यान्ड, ब्राजिल, मलेसिया र अस्ट्रेलिया लगायत देशहरू क्रमशः छन् । इन्डोनेसियासँग १४ अर्ब ९१ करोड, यूएईसँग २२ अर्ब ३१ करोड, अर्जेन्टिनासँग ९९ अर्ब २९ करोड रुपैयाँ, युक्रेनसँग २४ अर्ब ९० करोड व्यापार घाटाको अवस्था देखिन्छ ।
यस अवधिमा नेपालले सबैभन्दा बढी व्यापार नाफा अफगानिस्तानसँग गरेको छ भने अफगानिस्तानतर्फ ७७ करोड रुपैयाँको निर्यात हुँदा आयात भने जम्मा ८४ हजार रुपैयाँको मात्र छ, जसले गर्दा ६८ करोड ६१ लाख रुपैयाँ नाफा भएको छ।
यसैगरी, डेनमार्कसँग ३३ करोड ८९ लाख र रसियासँग ७ करोड ७४ लाख रुपैयाँको व्यापार नाफा रहेको भएपनि नाफाको यो अङ्क घाटाको तुलनामा नगण्य देखिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij