२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाउने तयारी गरेको छ । बिहीबार सार्वजनिक हुने बजेट मार्फत यस्तो उमेर ७० वर्ष कायम गर्ने तयारी अर्थ मन्त्रालयको छ । अहिले ६८ वर्ष पूरा भएका लाभग्राहीले मासिक ४ हजार रुपैयाँका दरले वृद्धभत्ता पाउँदै आएका छन् । यो उमेर बढाएर ७० वर्ष पुर्याउँदा अहिले पाइरहेका लाभग्राहीको सेवा भने काटिने छैन ।
अर्थ मन्त्रालय स्रोत अनुसार नयाँ प्रावधान अनुसार १ साउन २०८२ देखि ७० वर्ष पुग्ने लाभग्राहीले मात्र नयाँ वृद्ध भत्ता पाउने छन् । यसअघि नै ६८ वर्ष पुरा भई वृद्ध भत्ता पाइरहेकाको भने रकम काटिने छैन ।
सरकारले सामाजिक सुरक्षामा बढ्दो दायित्व न्यूनीकरण गर्न भन्दै वृद्ध भत्ता पाउने उमेर बढाउन लागेको हो । सरकारलाई यसअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत उमेर बढाउन सिफारिस गरेको थियो । मन्त्रिपरिषद्बाट यसबारे निर्णय समेत भइसकेको छ ।
अहिले साविकको कर्णाली अञ्चलमा पर्ने जिल्लाका नागरिक र देशभरिका दलित नागरिकले ६० वर्ष उमेर पुगेसँगै वृद्ध भत्ता पाउँछन् । उनीहरूलाई मासिक २ हजार ६ सय ६० रुपैयाँ दिने गरिन्छ । विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका महिलाले समेत सोही दरमा मासिक भत्ता पाइरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij