२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुँदै आएको स्टिङ अपरेशन अमान्य हुने फैसला गरेको छ।
अदालतले स्टिङ अपरेशनका कारण परेका सबै मुद्दाहरु अमान्य र बदर हुने फैसला पनि सोमबार गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासले अख्तियारले गर्दै आएको स्टिङ अपरेशन अमान्य ठहर गरेको हो।
अख्तियारले स्टिङ अपरेशन गरी विभिन्न कर्मचारी तथा अख्तियारप्राप्तहरुलाई रंगेहात समात्ने गरेको थियो।
अधिवक्ता बिष्णुप्रसाद घिमिरेले २०७४ सालमा संवैधानिक इजलासमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला दिएको हो।
सर्वोच्चले अख्तियारको नियमावली २०५९ को नियम ३० मा रहेको ‘प्रावधान’ नेपालको संविधानको धारा १३३ को उपधारा १ विपरीत भएकाले आजैका मितिदेखि लागू हुने गरी अमान्य र बदर हुने ठहरसमेत गरेको छ।
सर्वोच्चको फैसलाले स्टिङ अपरेशनबाट दर्ता भएका सबै मुद्दाहरु खारेज हुनेछन्।
फैसलामा भनिएको छ- हाल मुद्दाको सुनुवाइ अन्तिम भइनसकेका वा न्यायिक प्रक्रियामा रहेका विवादका सन्दर्भमा समेत अमान्य र बदर भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावली २०५९ को नियम ३० को प्रावधानअनुसार संकलन गरिएका प्रमाण ग्रहणयोग्य नहुने भएकाले सोको तर्फ थप उल्लेख गरिरहनु परेन।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij