२०८२ आश्विन २८ गते मंगलवार
संसदमा छैटौँ ठूलो दल बन्नेगरी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ। एकता प्रक्रिया अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन्।
दुई पार्टी एक हुँदा उसको पहुँच मधेस प्रदेशदेखि सुदूरपश्चिमसम्म विस्तार हुनेछ। मधेसमा त प्रभावशाली दल नै बन्ने छ। दुवै पार्टीनिकट शीर्ष तहका नेताले दिएको जानकारी अनुसार एकीकृत पार्टीको संरक्षक रेशम चौधरी हुनेछन्।
यस्तै, अध्यक्षमा सीके राउत रहने छन्। सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने निश्चित भइसकेको छ। यद्यपि, सहअध्यक्ष राख्ने वा अध्यक्षमण्डल राख्ने भन्ने निर्क्यौल भने दुवै पार्टीले गठन गर्ने कार्यदलले टुंगो लगाउने छ।
२०७५ सालमा गठन भएको राउत नेतृत्वको जनमत र डिल्लीबजार कारागारमै छँदा रेशम चौधरीले २०७८ सालमा श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन गरेको नाउपाबीच छिट्टै एकता गर्ने तय भएको छ। प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन्। यस्तै, नाउपाका ४ जना छन्।
‘एकता गर्ने निश्चित भएको छ,’ नाउपाको संरक्षक रहेका रेशम चौधरीले भने, ‘भोलि र पर्सि हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक राखेका छौँ, त्यसले कार्यदल बन्छ। दुवै पार्टीको कार्यदल बसेर छलफल हुन्छ अनि एकताको टुंगो लाग्छ।’
‘कार्यदले एउटा रिपोर्ट बुझाउला, एउटै बैठकले फाइनल नहोला,’ उनले थपे, एकता घोषणा गर्दा सबै कुरा मिलाएर मात्र गर्छौँ। पार्टीको नाम, झण्डा, चुनाव चिह्न सबै टुंगो लाग्छ, एकतापछि कुनै कुरा नल्याउने, ताकि विवाद नहोस्।’
जनमत पार्टीका एक पदाधिकारीले मुख्य कुरामा सहमति जुटिसकेको बताए। ‘पार्टीको नाम जनमत पार्टी राख्ने, अध्यक्षमा डा. सीके राउत, संरक्षक रेशम चौधरी रहने, सहअध्यक्ष रञ्जिता श्रेष्ठ र चुनाव चिह्न ढकिया राख्ने कुरामा सहमति भइसकेको छ,’ ती पदाधिकारीले भने, ‘पदाधिकारी संख्या पछि टुंगो लगाउने भन्ने छ।’
यसअघि अध्यक्ष मण्डल राखेका दलहरूले पार्टी चलाउन नसकेकाले सीके राउतले अध्यक्ष मण्डल राख्न नचाहेको उनी बताउँछन्।
आफूहरूले उपाध्यक्ष अब्दुल खान, प्रवक्ता शरद सिंह र केन्द्रीय सचिव बालगोविन्द चौधरी सदस्य रहेको वार्ता कमिटी गठन गरिसकेको राष्ट्रिय सचिव बीपी साहले बताए। ‘नागरिकको केन्द्रीय समितिबाट निर्णय भएपछि हाम्रो अरु प्रक्रिया अगाडि बढ्छ,’ साहले भने।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले एकता हुन लागेको बताइन्। एकतापछिको नेतृत्वको विषयमा कुनै विवाद नहुने उनको भनाइ छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij