२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा इलाममा राजस्व सङ्कलनमा भारी गिरावट आएको छ । आव २०८२/८३ मा ५२ करोड ८६ लाख ५८ हजार ३७८ मात्र राजस्व सङ्कलन भएको छ ।
सङ्घीय र कोशी प्रदेशका कार्यालयहरूमार्फत सो परिमाणमा राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ । यो अघिल्लो आव ०८१/८२ को तुलनामा ५० करोड ६७ लाख ६९ हजार ५०९ अर्थात् ४८ दशमलव ९४ प्रतिशतले कमी हो ।
आव ०८२/८३ मा सङ्घका कार्यालयहरूमार्फत रु ३४ करोड १७ लाख १२ हजार ३९८ राजस्व सङ्कलन भएको छ । अघिल्लो आव ०८१/८२ मा सङ्घका कार्यालयहरूमार्फत ८४ करोड ८२ लाख ७६ हजार चार सय सात राजस्व सङ्कलन भएको थियो ।
त्यस्तै, आव ०८२/८३ मा कोशी प्रदेशका कार्यालयहरूमार्फत १८ करोड ६९ लाख ४४ हजार ९७९ राजस्व सङ्कलन भएको छ । अघिल्लो आव ०८१/८२ मा प्रदेशका कार्यालयहरूमार्फत १८ करोड ७१ लाख ५१ हजार दुई सय ८० राजस्व सङ्कलन भएको थियो ।
गत आर्थिक वर्षमा स्थानीय तहहरूले खर्च गर्न नसकेका सशर्त, समपूरक र विशेष अनुदानका रकमहरू समयमा नै फिर्ता गरिएको कार्यालयले जनाएको छ ।
इलामका कार्यालयबाट आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ३० लाख छ हजार १५६ खर्च भएको छ । कूल विनियोजित बजेट १२ अर्ब १२ करोड ४१ लाख दुई हजार ९५२ मध्ये १७ दशमलव पाँच प्रतिशत अर्थात् दुई अर्ब १२ करोड १० लाख ९६ हजार ७९६ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका कोष नियन्त्रक एवं सूचना अधिकारी दीपकराज कार्कीले जानकारी दिए ।
जिल्लामा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये सो परिमाणमा बजेट खर्च नभएपछि फिर्ता भएको कार्कीले जानकारी दिए । अघिल्लो आव ०८१/८२ मा इलाममा सङ्घीय र प्रदेश सरकारको पुँजीगत र चालुतर्फको विनियोजित १२ अर्ब ३८ करोड आठ लाख ८६ हजार २८३ मध्ये एक अर्ब ९४ करोड पाँच लाख १५ हजार २५६ फिर्ता भएको थियो ।
सूचना अधिकारी कार्कीका अनुसार आव ०८२/८३ मा सङ्घीय सरकारको चालुतर्फ विनियोजित रु सात अर्ब ७१ करोड ५४ लाख ७८ हजार ८७५ मध्ये ४८ करोड ६० लाख ४३ हजार ८२५ फिर्ता भएको छ । सात अर्ब २२ करोड ९४ लाख ३५ हजार ५० अर्थात् ९३ दशमलव ७० प्रतिशत खर्च भएको छ ।
त्यस्तै, पुँजीगततर्फ विनियोजित दुई अर्ब ४८ करोड ४७ लाख ९७ हजार ७७ मध्ये रु एक अर्ब ११ करोड ८९ लाख ६९ हजार ३८६ फिर्ता भएको छ । एक अर्ब ३६ करोड ५८ लाख २७ हजार ६९१ अर्थात् ५४ दशमलव ९७ प्रतिशत मात्र खर्च भएको छ ।
अघिल्लो आव ०८१/८२ मा सङ्घीय सरकारको चालुतर्फ विनियोजित सात अर्ब ३८ करोड ९३ लाख ११ हजार ५६७ मध्ये रु छ अर्ब ८५ करोड ७६ लाख ८७ हजार २०० खर्च भई ५३ करोड १६ लाख २४ हजार ३६७ फिर्ता भएको थियो ।
त्यस्तै, पुँजीगततर्फ विनियोजित तीन अर्ब १६ करोड एक लाख ८६ हजार ७३३ मध्ये दुई अर्ब २२ करोड ७३ लाख ५५ हजार १०३ खर्च भई ९३ करोड २८ लाख ३१ हजार ६३० फिर्ता भएको थियो ।
त्यसैगरी आव ०८२/८३ मा कोशी प्रदेश सरकारको चालुतर्फ विनियोजित ८४ करोड १५ लाख १६ हजारमध्ये १६ करोड ६० लाख एक हजार ८१० फिर्ता भएको छ । ६७ करोड ५५ लाख १४ हजार १९० अर्थात् ८० प्रतिशत मात्र खर्च भएको छ ।
त्यस्तै, पुँजीगततर्फ विनियोजित रु एक अर्ब आठ करोड २३ लाख ११ हजारमध्ये ३५ करोड ८१ हजार ७७४ फिर्ता भएको छ । ७३ करोड २२ लाख २९ हजार २२६ अर्थात् ६८ प्रतिशत मात्र खर्च भएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।
अघिल्लो आव ०८१/८२ मा ८६ करोड ७३ लाख ५३ हजार दुईमध्ये ७२ करोड ३५ लाख ८० हजार २९५ मात्र खर्च भई १४ करोड ३७ लाख ७२ हजार ७०७ फिर्ता भएको थियो ।
त्यस्तै, पुँजीगततर्फ विनियोजित ९६ करोड ४० लाख ३४ हजार ९८१ मध्ये ६३ करोड १७ लाख ४८ हजार ४२९ खर्च भई २२ करोड २२ लाख ८६ हजार ५५२ बजेट फिर्ता भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij