Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

‘अर्लि इलेक्सन’ बाट प्रधानमन्त्री बन्ने यस्तो छ देउवाको दाउ, रामचन्द्र किन सत्तामा जान गर्दैछन् अपहत्ते ?

‘अर्लि इलेक्सन’ बाट प्रधानमन्त्री बन्ने यस्तो छ देउवाको दाउ, रामचन्द्र किन सत्तामा जान गर्दैछन् अपहत्ते ?


  • 11.8K
    Shares

    ‘अर्लि इलेक्सन’ बाट प्रधानमन्त्री बन्ने यस्तो छ देउवाको दाउ, रामचन्द्र किन सत्तामा जान गर्दैछन् अपहत्ते ?

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको एक सातापछि गएको शुक्रबार पहिलो पटक तीन दलको बैठक बस्यो।

    कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी निर्णयअनुसार नयाँ सरकार बनाउने विषयमा छलफल गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो निवास बुढानीलकण्ठ बोलाए।

    देउवा निवास बुढानीलकण्ठको तीन दलको बैठकले नेपालको सत्ता राजनीतिलाई तरंगित बनायो। खास गरेर प्रतिनिधिसभा विघटन भएपछि पुस ५ यता सरकार परिवर्तनका कुरा चलिरहे पनि देउवा मौन प्रायः थिए।

    सरकार परिवर्तनभन्दा बढी देउवाले ‘अर्लि इलेक्सन’ मा फाइदा देखिरहेका थिए। बुढानीलकण्ठको त्यो बैठकपछि ओलीको सत्ता बहिर्गमनको चर्चाले बल पाएको छ, अहिले।

    कांग्रेस केन्द्रीय कार्यसमिति र पूर्वपदाधिकारीको बैठकले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय गरेको छ। र, ‘अर्लि इलेक्सन’ मा फाइदा देखिरहेका देउवालाई पार्टीको त्यही निर्णयले तीन दलको बैठक बोलाउन बाध्य पार्‍यो। आज फेरी कांगेस केन्द्रिय कमिटीको बैठक बस्दै छ। 

    माओवादी केन्द्र र जसपासँगको बैठकमा देउवाले सरकारको नेतृत्वका लागि सहयोग गर्न प्रस्ताव गरेका थिए। आफ्नै नेतृत्वमा सरकार बनाउने पार्टीको निर्णयअनुसार देउवाको प्रस्ताव थियो।

    देउवाको प्रस्तावमा माओवादी केन्द्र सकारात्मक देखिए पनि जसपाका तर्फबाट ठोस जवाफ आएन। जसपा अध्यक्ष महन्थ ठाकुरले देउवाले गरेको प्रस्तावबारे पार्टीमा छलफल गर्ने बताए।

    ‘सरकार बनाउने सन्दर्भमा हाम्रो पार्टीभित्र छलफल भएको छैन। तपाईंले पहिलोचोटी औपचारिक रूपमा यो प्रस्ताव राख्नु भयो। ठीकै छ, अब म आफ्नो पार्टीभित्र यस विषयमा छलफल गर्छु,’ ठाकुरले देउवालाई भनेका थिए।

    जसपा अध्यक्ष ठाकुरले कांग्रेस सभापति देउवाले गरेको प्रस्तावबारे पार्टीमा छलफल गर्ने बताएपनि सुरूदेखि उनको बढी झुकाव प्रधानमन्त्री ओलीतर्फ देखिएको छ।

    रेशम चौधरीको रिहाइ, संविधान संशोधन, नागरिकतालगायतका विषयमा अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग निरन्तर संवाद गरिरहेका छन्। र, तत्काल यी विषयहरू वर्तमान सरकारले नै गर्नसक्ने भनेर ठाकुरको मन ओलीतिरै ढल्किएको छ।

    तीन दलको बैठकमा पनि ओलीसँगको वार्ता धेरै अगाडि बढिसकेको भन्दै ठाकुरले यसको संकेत गरिसकेका छन्।

    ‘ओलीजीसँग हाम्रो वार्ता भइरहेको छ। वार्ता धेरै अगाडि बढिसकेको छ,’ ठाकुरले भनेका थिए,‘हामीले उठाउँदै आएको मुद्दाबारे ओलीजीसँगको कुराकानी धेरै अगाडि बढिसकेको छ। के कस्तो प्रगति हुन्छ हामीले खबर गरौंला।’

    ठाकुरले यस्तो भनेपछि देउवा र प्रचण्डले चाँडै खबर गर्न आग्रह गरेका थिए।

    ठाकुर प्रधानमन्त्री ओलीतर्फ ‘सफ्ट’ देखिएपनि उनकै पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ठीकविपरीत ध्रुवमा उभिएका छन्।

    आश्वासन दिइरहे पनि ओलीले माग सम्बोधन गर्नेबारे अध्यक्ष यादव ढुक्क देखिएका छैनन्। साथै, राजनीतिक मुद्दालाई सत्तासहकार्यसँग जोड्न नहुनेमा यादवको जोड छ।

    रेशम चौधरीको रिहाइ प्रशासनिक विषय रहेकोले यसलाई राजनीतिसँग जोड्न नहुने उनको भनाइ छ।

    ‘ओलीलाई प्रतिगमनकारी भनेर हिजो सडकमा हामी उभियौं, हाम्रै पार्टीका कतिपय नेताले महाठगको बिल्ला नै भिराउनु भयो,’ यादवले भने,‘अब कसरी दानी बन्नुभयोरु संविधान संशोधनमा धोका दिइसकेका व्यक्तिले दिइरहेको आश्वासनलाई कसरी भरोसा गर्नेरु’

    जसपा अध्यक्ष ठाकुर र भट्टराई–उपेन्द्र समूहबीच मचेको रडाकोका कारण देउवाको नेतृत्वमा तत्कालै सरकार बन्ने सम्भावना कमै देखिएको छ।उसोपनि संस्थापन इतरका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह ओलीको विकल्पमा सरकार बनाउन खोजिरहेपनि संसदभित्रको अंकगणित हेरेर देउवाले खासै रूची देखाएका छैनन्।

    बरू वैकल्पिक सरकारभन्दा ‘अर्लि इलेक्सन’ बाट सरकारको नेतृत्वमा पुग्ने देउवाको चाहना छ।

    तर, वरिष्ठ नेता पौडेल भने अहिले चुनावको नामै सुन्न चाहिरहेका छैनन्। उनी जसरीपनि प्रधानमन्त्री ओलीलाई पदच्युत गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन लगाएर तोकिएकै मितिमा निर्वाचनमा जानुपर्ने पक्षमा उभिएका छन्।
    र, ती दुई नेताको फरक धारणा पछिल्लो समय सार्वजनिक मञ्चमै पोखिन थालेको छ।

    सत्तासहकार्यबारे छलफल गर्न तीन दलको बैठक बोलाइएकै दिन एक कार्यक्रममा देउवा र पौडेलबीच ‘भनाभन’ नै भयो।
    वरिष्ठ नेता पौडेलले जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेको बताउँदै अर्को अवसर खेर नफाल्न देउवालाई खबरदारी गरे।

    सम्बोधनपछि आफ्नो आसनतिर जान लागेका पौडेललाई देउवाले प्रश्न गरे,‘मैले केमा अवसर खेर फालेँरु’  कुनचाहिँ अवसर खेर गएको छ बताइदिन उनले पौडेललाई भनेका थिए।

    ‘तपाईं सरकार बनाउने कुरा गर्नुहुन्छ। संख्या कसरी पुग्छ देखाइ दिनुस् त,’ मञ्चमै रहेका एक नेताका अनुसार देउवाले पौडेललाई भनेका थिए,‘हामीले सरकार बनाउन जसपा र माओवादीको साथ चाहिएन। त्यसैका लागि आज बैठकपनि बोलाइएको होइनरु अनि कसरी अवसर खेर फालियोरु’

    पौडेलपछि सम्बोधन गरेका देउवाले आफू प्रधामन्त्री नै बन्न नचाहेको प्रष्ट्याउने कोसिस गरे।

    ‘म आफू प्रधानमन्त्री हुन चाहेको पनि छैन। जो सुकै होस्, तयार पार्नुस् न मान्छे। तपाईं भन्नुस्, कसलाई बनायो भने सहमति हुन्छ। म तयार छु,’ देउवाले भनेका थिए,‘म चाहिँ संख्या नपुग्ने खेलमा छैन।’

    सभापति देउवा कमजोर बहुमतको सरकारको नेतृत्व गर्न चाहेका छैनन्। कांग्रेस, माओवादी केन्द्र र जसपा मिल्दापनि बहुमतभन्दा २÷३ सिटमात्र बढी हुने उनको आँकलन छ। पछि कोही यताउता भइदिँदा सरकार नै जोखिममा पर्नसक्ने देउवालाई लागेको छ। त्यसैले उनी चुनावमा गएर कांग्रेसको नेतृत्वमा सरकार बनाउने दाउमा देखिएका छन्।

    पेचिलो बन्दै गएको अहिलेको राजनीतिक निकासका लागि देउवाले चुनावलाई नै सर्वोत्तम विकल्प देखेका छन्। कम्युनिस्ट सरकारको खस्किँदै गएको लोकप्रियताका लाभ निर्वाचनमा लिन सकिने उनको बुझाइ छ।

    ‘अहिले सरकारको नेतृत्व गरेपनि १५/२० महिनामा धेरै काम गर्नसक्ने अवस्था देखिँदैन। फेरी सरकारपनि कमजोर नै बन्ने निश्चित छ,’ देउवा निकट एक नेता भन्छन्,‘त्यसैले सभापतिजीलाई चुनावमा गएर जनताको मन जितेर आफ्नै सरकार बन्नेमा ढुक्क देखिनु भएको छ।’

    तर, पौडेलको भने प्रधानमन्त्री ओलीकै नेतृत्वमा हुने चुनाव निश्पक्ष हुुन नसक्ने लागेको छ। ओलीले राज्य शक्तिको प्रयोग गरेर चुनावलाई प्रभावित गर्नसक्ने उनको बुझाइ छ।

    त्यसैले पौडेल जसरी पनि ओलीलाई पदच्युत गरेर कांग्रेस नेतृत्वको सरकारमा चुनावमा जान चाहिरहेका छन्।

    तर, पौडेलले चाहेजस्तो नयाँ सरकार गठनको बाटो त्यति सहज पक्कै छैन। नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र जसपा गठबन्धनको विकल्प छैन। ओलीलाई पदच्युत गर्न माओवादी केन्द्र सकारात्मक रहेपनि जसपाभित्रै दुई धार देखिएको छ।

    अध्यक्ष ठाकुर र बाबुराम–उपेन्द्र पक्षबीच एक मत नहुँदासम्म नयाँ सरकार गठनको बाटो नखुल्ने निश्चित छ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - ११:३५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij