२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीले घरमा गरेको कामको पनि मूल्याङ्कन हुने जनाएको छ । परिमार्जन प्रक्रियामा रहेको नयाँ पाठ्यक्रम लागु भएपछि विद्यार्थीले घरमा गरेको काममा आधारमा मूल्याङ्कन गरी नम्बर दिने तयारी गरेको हो ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आज बसेको बैठकले पाठ्यक्रम विकास केन्द्रलाई सैद्धान्तिक स्वीकृत दिएसँगै यसलाई अगाडी बढाईने केन्द्रले जनाएको छ । साथै कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको घरमा गरेको कामको मूल्याङ्कन आगामी शैक्षिक सत्र देखि लागु गरिने केन्द्रको भनाई छ ।
आन्तरिक मूल्याङ्कन मापदण्डलाई परिमार्जन गरेर परियोजना कार्य अन्तर्गत यसलाई थप गरिने महानिर्देशक इम नारायण श्रेष्ठले बताए । यस भन्दा अगाडीको परियोजना कार्य यथावत् राखिने र त्यसैमा थप गरेर भाग २ अन्तर्गत घरमा गरेको कामको मूल्याङ्कन गरिने उनको भनाई छ ।
विद्यार्थीले खेतबारीमा घास काटे, खेतीबाली लगाए, घरमा खाना पकाए, भाई बहिनीको हेरचाहा गरे लगायत घरका विभिन्न काममा अभिभावकलाई सघाए उनिहरूको मूल्याङ्कन गरिने र त्यसैका आधारमा कति घण्टा काम गर्यो घण्टाको हिसाबले शिक्षकले नम्बर दिने केन्द्रले जनाएको छ ।
तीन घण्टाको परीक्षामा लेखेको आधारमा मात्रै मूल्याङ्कन गर्न नहुने भन्दै घरमा गरेको कामलाई पाठ्यक्रमसँग जोड्न लागेको हो । यसमा विद्यार्थीले घरमा गरेको कामको रिपोर्ट शिक्षकलाई बुझाउनु पर्ने छ । सोही अनुसार कुन विद्यार्थीले घरमा कति काम गरे, के काम गरे भन्ने रेकर्ड शिक्षकले विद्यालयमा राख्नुपर्ने हुन्छ । उक्त रेकर्डका आधारमा विद्यार्थीले घरमा काम गरेको छ वा छैन भन्ने विषयमा शिक्षकले अभिभावकसँग समन्वय गरी बुझ्ने छन् । अभिभावकसँगको समन्वय पछि कामको पुष्टि गरेर मात्रै शिक्षकले त्यसको मूल्याङ्कन गरी नम्बर दिने छन् ।
पाठ्यक्रम विकास केन्द्रले घरमा गरेको कामका आधारमा नम्बर दिने पाठ्यक्रम निर्माण गर्ने तयारी गरेपनि कुन कामलाई कति नम्बर दिने भन्ने विषय भने टुङ्गो लागेको छैन । यस सन्दर्भमा आन्तरिक मूल्याङ्कन मापदण्ड परिमार्जन आगामी माघ महिनामा सकिने समेत पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij