२०८२ भाद्र १ गते आइतवार
दाङ । घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ । विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन् ।
कक्षा ११ मा अध्ययनरत घोराही-१० नारायणपुरकी छात्रा आशा केसीले घर नजिकैको विद्यालयमा शैक्षिक कार्यक्रममै कोरियन भाषा विषय पढ्न पाउँदा उत्साहित भएको बताइन् । कक्षा १२ को पढाइ सकेर फेरि इन्स्टिच्युट धाएर कोरियन भाषा कक्षा लिनुभन्दा पढाइसँगै पाठ्यक्रममै भाषा शिक्षा लिनु पाउनुलाई आफूहरूले अवसरका रूपमा लिएको उनको भनाइ छ । वडा नं ११ डोक्रेना निवासी विद्यार्थी आयुष चौधरीले आफूले कोरियन भाषा सिक्न पाउँदा निकै खुसी लागेको बताए । पाठ्यक्रममै कोरियन भाषा शिक्षा लिन पाउँदा आफूजस्तै सबै विद्यार्थी उत्साहित भएका उनले सुनाए ।
तीस जना छात्र र २५ जना छात्राले कोरियन विषय रोजेर पढ्न सुरु गरेकाले आगामी दिनमा यो विषयको माध्यमबाट विद्यार्थीको आकर्षण बढ्ने विद्यालयले अपेक्षा गरेको छ । यस विद्यालयमा हाल दुई हजार एक सय ७१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि डिप्लोमाको पठनपाठन गर्दै आएको छ ।
कोरियन भाषा विषयको पठनपाठन हुन थालेपछि व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषा विषयको कक्षा लिइरहेको मावि नारायणपुरका प्रधानाध्यापक उत्तम कुमार खनालले जानकारी दिए । उनका अनुसार मावि तहमा अङ्ग्रेजी विषयबाहेक अरू विदेशी भाषाको पढाइ भित्र्याउने यो पहिलो विद्यालय बनेको छ । पाठ्यक्रममै कोरियन भाषा पढाउन पाउने प्रावधान रहेको हुँदा ऐच्छिक विषयका रूपमा विद्यालयमा कोरियन भाषाको विषय थप गरेर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक खनालले बताए ।
पचहत्तर पूर्णाङ्कको लिखित परीक्षा र २५ पूर्णाङ्कको प्रयोगात्मक अंक भार रहने गरी पाठ्यक्रम तयार पारिएको छ । ऐच्छिक विषयका रूपमा थपिएको कोरियन भाषा विषयको कक्षा लिने विद्यार्थीले मासिक अतिरिक्त रु. छ सय ५० शुल्क तिर्नुपर्छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर डाँगीले विद्यालयमा कोरियन भाषा कक्षा शिक्षकहरू कविराम चौधरी र श्यामलाल लहेरले पढाउने गरेको जानकारी दिए । कोरियन भाषा पठनपाठन सुरु गरे पनि यस विषयको पाठ्यपुस्तक पाउन कठिन भएको शिक्षक कविराम चौधरीले बताए । अहिले पाठ्यक्रम अनुसार आफैँले पाठ्यसामग्री तयार गरेर पढाउने काम गर्दै आएको उनले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij