२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाईने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि” भन्ने आदर्श वाक्यका साथ १२औँ राष्ट्रिय विज्ञान दिवस मनाउन लागेको हो।
विज्ञान दिवसको अवसरमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सभा हलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रमको प्राविधिक सत्रमा साइन्स एन्ड टेक्नोलोजी टु एक्सलेरेट प्रोडक्सन ईन नेपाल विषयमा प्यानल छलफल हुनेछ।
त्यस्तै औपचारिक कार्यक्रममा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार, २०८१ का लागि छनोट भएका ९ जनालाई पुरस्कार समेत प्रदान गरिनेछ। पुरस्कृत हुनेहरूको नाम असोज १ गते नै मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिनेछ।
विज्ञान, प्रविधि तथा अनुसन्धानमा भएका उपलब्धिबाट कृषि तथा औद्योगिक उत्पादन, उत्पादकत्व अभिवृद्धि र दिगो पूर्वाधार विकास हासिल गर्ने लक्ष्यतर्फ अनुसन्धानकर्ता, प्राज्ञिक वर्ग, वैज्ञानिक समाज, निजी क्षेत्र एवं सरोकारवाला सबै निकायलाई प्रयासरत रहन प्रेरित गर्ने उक्त दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले विज्ञान प्रविधिसँग सम्बन्धित काम गर्ने सँग संस्थाहरूसँग मिलेर प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको छ। त्यस्तै स्थानीय तह, विद्यालय एवम् अन्य निकायबिच कृत्रिम बौद्धिकताको उपयोग विषयमा छलफल कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij