२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । ९० वर्ष नाघेका क्रोधकला शिरोमणि कालु कुम्हाः, ८० वर्ष नाघेका जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ संगीतकर्मी श्रीगोपाल प्रजापति, बौद्ध संस्कृतिविद् यज्ञमानपति वज्राचार्य, वरिष्ठ साहित्यकार सुवर्ण चित्रकार शुक्रबार राष्ट्रिय नाचघरको मञ्च उक्ले।
हातमा टेको लिई, अरूको सहारा लिई हिँड्नुपर्ने कलाशिरोमणि कुम्हा, जनकवि श्रेष्ठ यसरी उत्साहपूर्वक मञ्चमा उभिनुको एउटै कारण थियो, आफ्नो समुदाय समग्र पहिचान झल्काउने बृहत् कोश ‘नेवाः सांस्कृतिक ज्ञानकोश’ को विमोचन गर्नु। मञ्चमा उभिएर उनीहरूले ज्ञानकोश अगाडि राखिएको मण्डलामा पूजा गरी ज्ञानकोशको पुस्तकलाई म्हपुजामा लगाइने क्वखा लगाई पुस्तकको विमोचन गरे।
यसरी विमोचन किन गरे त ? यसबारे ज्ञानकोशका परिकल्पनाकार तथा नेपालभाषा एकेडेमीका उपकुलपति मल्ल के सुन्दरले भने, ‘यो ज्ञानकोश नेवाः समुदायको आत्मा झल्काउने पुस्तक हो। त्यसैले जसरी नेवाःहरूले म्हपूजाको दिन मण्डला बनाई पूजा गर्छन्, त्यसरी नै पुस्तकलाई पूजा गरी विमोचन गरिएको हो।’
कार्यक्रममा बोल्दै परिकल्पनाकार मल्लले भने, ‘यो पुस्तक मात्र नेपालभाषामा लेखिएको अक्षरहरूको सँगालो होइन्, यो पुस्तक नेवाःहरूको पहिचानलाई बृहद् रूपमा चित्रण गर्ने पुस्तकको हो। यो ज्ञानकोश पढेपछि नेवाःहरू को हुन्, कहाँबाट आएका हुन्, उनीहरूको संस्कृति, जात्रा, पर्व, भाषा लिपि, साहित्य बारे विस्तृत रूपमा जानकारी पाइनेछ। त्यस्तै नेवाःहरूको शिल्प, प्रविधि, कला, गीतसंगीत, बाजागाजाबारे पनि सम्पूर्ण जानकारी मिल्नेछ।’
पाँच खण्डको यो ज्ञानकोश लगभग २८ सय पृष्ठको छ। ज्ञानकोशलाई ‘नेवाः म्हसीका’ (नेवाः पहिचान), ‘संस्कृति र सम्पदा’, ‘भाषा, लिपि र साहित्य’, ‘म्ये, बाजं व प्याखं’ (गीत, बाजा र नाट्य) र ‘शिल्प, प्रविधी र ज्ञान’ गरी पाँचखण्डमा विभाजन गरिएको छ।
ज्ञानकोष काठमाडौं महानगरपालिकाको सहयोगमा नेपालभाषा एकेडेमीले प्रकाशनमा ल्याएको हो। कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाया उपमेयर सुनिता डंगोलले यस्तो महत्वपूर्ण पुस्तक प्रकाशनमा महानगरपालिकाले सहकार्य गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउँदै यसको नेपाली र अंग्रेजी अनुवादका लागि पनि महानगरपालिकाले सहयोग गर्ने बताइन्।
त्यस्तै काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागका संयोजक तथा वडा ८ का अध्यक्ष आशामान संगतले ज्ञानकोश तयार गर्न तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालामा एकेडेमीसँग सम्झौता भएको जानकारी गराउँदै यस्तो महत्वपूर्ण पुस्तक प्रकाशनमा सहभागी हुन पाउँदा खुसी लागेको बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij