Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

छिमेकी मुलुक 

भारतको एक अस्पतालमै डाक्टरको बलात्कारपछि हत्या, न्यायको माग गर्दै ९ दिनदेखि प्रदर्शन 

भारतको एक अस्पतालमै डाक्टरको बलात्कारपछि हत्या, न्यायको माग गर्दै ९ दिनदेखि प्रदर्शन 


  • 3.0K
    Shares

    भारतको एक अस्पतालमै डाक्टरको बलात्कारपछि हत्या, न्यायको माग गर्दै ९ दिनदेखि प्रदर्शन 
    images

    डाक्टरको बलात्कारपछि हत्या भएको घटनाले भारतमा ९ दिनदेखि प्रदर्शन जारी छ । पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा पोस्ट ग्र्याजुयट गरिरहेकी प्रशिक्षार्थी डाक्टर अगस्ट ९ मा अस्पतालकै सेमिनार हलमा मृत भेटिएकी थिइन् ।  

    परीक्षण गर्दा उनीमाथि बलात्कार र त्यसपछि हत्या भएको खुलेपछि कोलकातासहित भारतका विभिन्न सहरहरूमा प्रदर्शन चर्किरहेको छ । घटनाको विरोध गर्दै अभियुक्तलाई कडा कारबाहीको माग गरिएका सन्देशहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । 

    घटनापश्चात सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका थिए । प्रदर्शनमा भारतीय मेडिकल एसोशिएसन, नागरिक समाज र विद्यार्थीहरूले ऐक्यवद्धता जनाएका छन् । भारतको प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरिसकेको छ । तर, प्रदर्शन मत्थर भएको छैन । 

    ती डाक्टरमाथि सामूहिक बलात्कार भएको तर प्रहरीले एकजनालाई देखाएर अन्यलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शनकारीहरूले अभियुक्त पक्राउ परिसक्दा पनि प्रदर्शन जारी राखेको भारतीय समाचार संस्थाहरूले लेखेका छन् ।

    कोलकाता प्रहरीले घटनाको भोलिपल्टै (अगस्ट १०)मा सञ्जय रोय नाम गरेका व्यक्तिलाई समातेको थियो । मृतक डाक्टरको नङभित्र भेटिएको अभियुक्तको रगत र छालाको अंशको डिएनए पनि सञ्जयको डिएनएसँग मेल खाएकाले अभियुक्त उनै हुन् भन्ने प्रमाणीत समेत भइसकेको छ । 

    ती व्यक्ति अस्पतालकै स्वयंसेवक रहेकाले अस्पतालको सबै ठाउँमा उनलाई प्रवेश खुला थियो । उनी हरेक दिनजसो अस्पताल जान्थे । त्यस रात सेमिनार हलमा डाक्टर निदाइरहेको समयमा सञ्जय पुगेका थिए । त्यसबेला डाक्टरले प्रतिकारका लागि भरमग्धुर प्रयास गरेको उनको नङभित्र भेटिएको छाला र रगतका धब्बाहरूले पुष्टी गर्ने कोलकाता प्रहरीले बताएको छ ।

    बलात्कारपछि अभियुक्तले घाँटी थिचेर डाक्टरको हत्या गरेको पोस्टमर्टम रिपोर्टमा देखिएको छ । बलात्कार र हत्या गरेपछि आफू घरमा गएर सुतेको र प्रमाण नदेखियोस् भनेर आफूले लगाएको कपडा धोएको प्रहरीसँगको बयानमा बताएका छन् । अस्पतालमै जघन्य अपराध भएपछि अगष्ट १२ मा अस्पतालका प्रिन्सिपल प्राध्यापक डा.सन्दीप गोशले पदबाट राजीनामा दिएका थिए ।

    कोलकता उच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिन आदेश गरेको थियो । त्यसयता सिबिआईले अनुसन्धान गर्दै आएको छ । सिबिआईले अगष्ट १६ मा तत्कालीन प्रिन्सिपल गोशसँग पनि सोधपुछ गरेको छ ।

    मृतककी आमाले भने छोरीबारे सुरूमै गलत सूचना दिएको बताउँदै आएकी छन् । अगस्ट ९ को बिहान १०ः५३ बजे अस्पतालका सहायक सुपरिटेन्डेन्टले फोन गरेर छोरी बिरामी भएको बताएको, पछि फोन गर्दा डाक्टरकहाँ लगिँदै गरिएको र तेस्रोपटक फोन गर्दा आत्महत्या गरेको भनिएको बताएकी छन् ।  

    अस्पताल प्रशासनले पनि यस घटना भएको ९ दिन बितिसक्दा पनि आफूहरूसँग कुराकानी गर्न नआएको बताएका छन् । -द हिन्दुबाट

    प्रकाशित मिति :भाद्र ३ २०८१ सोमवार - १४:३२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij