२०८२ पौष ५ गते शनिवार
काठमाडौं । अमेरिकी न्याय विभागले योन दुराचारी जेफ्री एपस्टिन मुद्दासँग सम्बन्धित दस्तावेजहरूको ठूलो सेट जारी गरेको छ । शुक्रबार रात करिब साढे २ बजे पाँच सेटमा लगभग तीन लाख दस्तावेज सार्वजनिक गरिएका छन् ।
यी फाइलहरूमा पूर्वराष्ट्रपति बिल क्लिन्टन, पप स्टार माइकल ज्याक्सन, अभिनेता क्रिस टकर र बेलायतका प्रिन्स एन्ड्र्युजस्ता चर्चित व्यक्तित्वहरूका तस्बिरहरू समावेश छन् ।
जारी गरिएका तस्बिरहरूमा केही यस्ता फोटोहरू पनि छन्, जसमा बिल क्लिन्टन युवतीहरूसँग पुलमा समय बिताउँदै र पार्टी गर्दै छन् । पहिलो चार सेट एकैसाथ जारी गरिएका थिए, जबकि केही घण्टापछि पाँचौँ सेट पनि सार्वजनिक गरियो । कुल तीन हजार ५०० भन्दा बढी फाइलहरू सार्वजानिक गरिएका छन्, जसमा २.५ जीबीभन्दा बढीको डाटा समावेश छ । यद्यपि, धेरै तस्बिरहरू कुन ठाउँका हुन् भन्ने स्पष्ट छैन । पहिलो चरणका दस्तावेजहरू सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा हलचल भएको छ ।
बिल क्लिन्टनसँग जोडिएका धेरै तस्बिरहरू यो सेटमा आएका छन् । जारी तस्बिरहरूमा क्लिन्टन एक निजी विमानमा देखिएका छन्, जहाँ उनीसँग बसेकी महिलाको अनुहार ढाकिएको छ । यसबाहेक स्विमिङ पुल र हट टबमा उनको उपस्थितिका तस्बिरहरू पनि समावेश छन् । केही तस्बिरहरूमा क्लिन्टनलाई जेफ्री एपस्टिनकी नजिककी सहयोगी घिस्लेन म्याक्सवेलसँग देखिएको छ । यद्यपि, यी सबै तस्बिरहरूको समय र सन्दर्भबारे जारी फाइलहरूमा कुनै स्पष्ट जानकारी दिइएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij