Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

अब बालाजुबाट पनि लाइसेन्सको लिखित र ट्रायल परीक्षा हुने

अब बालाजुबाट पनि लाइसेन्सको लिखित र ट्रायल परीक्षा हुने


  • 309
    Shares

    अब बालाजुबाट पनि लाइसेन्सको लिखित र ट्रायल परीक्षा हुने
    images

    काठमाडौँ । यातायात व्यवस्था कार्यालय, बालाजुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । 

    कार्यालयका प्रमुख चेतनाथ भट्टराईका अनुसार हालसम्म कार्यालयले सवारी ब्लु–बुक नवीकरण र कर संकलनको काम मात्र गर्दै आएको थियो । अब पूर्ण क्षमतामा  सेवा प्रवाह गर्ने तयारी स्वरुप ट्रायल सेन्टरका लागि प्रस्ताव आह्वान गरिएको उनले बताए । 

    ‘बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय र विभागीय मन्त्रीज्यूको निर्देशन अनुसार कार्यालयलाई पूर्ण क्षमतामा लैजान लागिएको हो’ प्रमुख भट्टराईले भने, ‘बालाजु कार्यालयलाई लाइसेन्ससहितको फुल फेजको अफिस बनाउने निर्णय भएको थियो । सोही अनुसार हामीले ट्रायल सेन्टर छनोटको प्रक्रिया अगाडि बढाएका हौँ ।’
     
    कार्यालयले एक सूचना जारी गर्दै दुई पाङ्ग्रे चार पाङ्ग्रे तथा हेभी सवारी साधनको प्रयोगात्मक परीक्षाका लागि आवश्यक पूर्वाधार र सवारी साधन भाडामा लिन इच्छुक संस्थाहरुबाट शिलबन्दी प्रस्ताव माग गरेको छ ।

    सूचनाअनुसार वर्ग ‘क’ र ‘ट’ (मोटरसाइकल, स्कुटर र मोपेड), वर्ग ‘ख’ र ‘च’ (कार, जिप, डेलिभरी भ्यान, मिनिबस र मिनिट्रक), र वर्ग ‘ग’ (ट्रक, बस र लरी)का लागि प्रस्ताव माग गरिएको हो । 

    प्रस्ताव अनुसार प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर) काठमाडौँको बालाजु चोकबाट ५ किलोमिटरको दुरीमा (चक्रपथ भित्र वा बाहिर) हुनुपर्नेछ । ट्रायल सेन्टरमा एकैपटक १०० जना परीक्षार्थी सहभागी भई लिखित परीक्षा सञ्चालन गर्न सक्ने क्षमता भएको हल, चमेना गृह र पार्किङ सुविधा अनिवार्य गरिएको छ । साथै, दुई पाङ्ग्रे, चार पाङ्गेर ठूला सवारीको ट्रायल एकै कम्पाउण्डबाट सञ्चालन हुनुपर्ने शर्त राखिएको छ ।

    ट्रायलका लागि प्रयोग हुने साना सवारी साधन (वर्ग ’क’ र ’ख’) सन् २०१९ वा सोभन्दा पछाडिको मोडेलको हुनुपर्ने कार्यालयले जनाएको छ । ठूला तथा मझौला सवारीको हकमा भने १० वर्ष भन्दा पुरानो हुन नहुने मापदण्ड तोकिएको छ ।
     
    यस्तै सानो भर्‍याङमा रहेको हालको कार्यालय पनि चालु वर्षभित्रै बालाजुमा सार्ने तयारी भइरहेको उनले बताए । प्रमुख भट्टराईकाअनुसार प्रदेश सरकारको संगठन तथा व्यवस्थापन  सर्वेक्षण अनुसार यसअघि नै बालाजुमा कार्यालय स्थापना गर्ने निर्णय भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । 

    प्रमुख भट्टराईका अनुसार कार्यालयको नाम बालाजु भए पनि हालसम्म सानोभर्याङबाटै सेवा प्रवाह भइरहेको छ । कार्यालयलाई बालाजु क्षेत्रमै स्थानान्तरण गर्ने योजना रहे पनि बजेट अभाव बाधक बनेको उनले बताए । 

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - ०८:१८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij