२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । राष्ट्रपतिले आज अपरान्ह ४ बजेलाई शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र कुनैपनि हालतमा नजाने भएको छ । उक्त बैठकलाई एक जना पूर्व मन्त्रीले भारदारी सभा भन्दै सामाजिक संजाल बाट राष्ट्रपतिलाई उडाएका छन्।
पुस ५ गते प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधिसभा विघटनको असंवैधानिक सिफारिशलाई निमेषभरमा सदर गरेकी राष्ट्रपतिले अहिले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरन्तरतामा अप्ठेरो उत्पन्न भएपछि सर्वदलीय बैठक बोलाएको विपक्षी दलहरूको आरोप छ ।
अहिले बिहान बसेको माओवादी स्थायी समिति बैठकले आज शीतल निवासको भेलामा सामेल नहुने निर्णय गरेको हो । उनीहरू भन्छन् ‘संविधान र प्रणाली नै संकटोन्मुख भएको बेला प्रधानमन्त्रीको सिफारिशको सहयात्री बन्नुभएका राष्ट्रपतिले त्यतिबेला सर्वदलीय बैठकको औचित्य देख्नुभएन । तर आज संविधानसम्मत भइरहेका संसदीय गतिविधिलाई लिएर सर्वदलीय बैठक डाक्नु अर्थपूर्ण छ ।’
यता,पार्टी छाडेर गएका गृहमन्त्री रामबहादुर थापा बादललगायतलाई माओवादी केन्द्रले सोधेको स्पष्टीकरण पत्र हिजो सबैको हातैमा थमाइएको छ । उनीहरूले आज साँझसम्ममा स्पष्टीकरण बुझाउनुपर्ने पेरिसडाँडा स्रोतले बताएको छ ।
बिहान उक्त पार्टीको संसदीय दलको बैठकसमेत सिंहदरबारमा बसेको छ । आज १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको सन्दर्भमा संसदीय दलको बैठक बसेको हो । प्रचण्ड उक्त बैठकमा नजाने पक्कापक्की भए पनि माधव नेपाल र बाबुराम भट्टराई पनि नजाने संकेत पाएको एक नेताले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij