२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) ले नयाँ स्कीम (स्वतः रोजगारी) कार्यक्रम ल्याएको छ । नेपालकै इतिहासमा पहिलो पटक केयुले स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर ‘स्वत: रोजगारी’ कार्यक्रम ल्याएको हो ।
केयुका उपकुति प्रा.डा भोला थापाका अनुसार विश्वविद्यालयसँग रोजगारी जोड्ने उद्देश्यले ‘काठमाण्डौ विश्वविद्यालय रोजगारी प्रवद्र्धन कार्यविधि २०२३’ पारित गरी यो कार्यक्रमलाई संस्थागत गरिएको हो । केयुको मंगलबार बसेको कार्यकारी परिषद्ले कार्यविधि २०२३ पारित गरेको उनको भनाइ छ । यो कार्यविधि अन्तर्गत आउने नयाँ विद्यार्थी र २८ औँ दीक्षान्त समारोह मार्फत स्नातक तहमा उच्च अंक ल्याउने विद्यार्थीबाट यो कार्यक्रम प्रारम्भ हुनेछ ।
विश्वविद्यालयले विद्यार्थी उत्तीर्ण गराउने मात्रै दायित्व नभै दक्ष भएपछि स्वदेशमै रोजगार प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम ‘लन्च’ गरिएको उपकुलपति प्रा.डा थापाले बताए। ‘नेपाली विद्यार्थीहरु नेपालमै नबसी विदेशमा पढ्न जाने जुन लर्को लागेको छ, त्यसको मुख्य कारण नेपालमा गुणस्तरीय शिक्षा र आफुले चाहेको विषय पढ्न नपाएर भन्दा पनि पढाईपछिको रोजगारीको बलियो आधार नहुनु पाइएको छ ।
रोजगारीका लागि विदेशिनेको संख्या ठूलो छ । दक्ष युवा पुस्तालाई आफ्नै देशमा रोजगारी सिर्जना गर्न यो कार्यक्रम शुरु गरिएको हो । नेपाल पनि रोजगारीका लागि राम्रो गन्तब्य छ भन्ने सन्देश दिन यो कार्यक्रमले मद्दत गर्नेछ,’ उपकुलपति प्रा.डा भोला थापाले भने ।
यो कार्यक्रम अन्तर्गत हाललाई ७० देखि ७४ जना स्नातक उत्तीर्णले रोजगारी पाउने छन् । त्यसका लागि केयुले चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ खर्च गर्नेछ । रोजगारी प्राप्त गर्नेलाई नेपाल सरकारले प्रदान गर्ने सरकारी तलबमान भन्दा केही थपेर तलब दिइनेछ ।
नेपाल सरकारले केही आर्थिक सहयोग गर्ने हो भने अहिलेको रोजगारी संख्या बढाउन सकिने केयुले जनाएको छ । थप आर्थिक सहयोगका लागि प्रधानमन्त्री तथा कुलपति र शिक्षा मन्त्री तथा उपकुलपति मार्फत नेपाल सरकारलाई केयुले औपचारिक जानकारी समेत गराईसकेको छ । ‘अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा जस्तै केयुले शुरु गरेको ‘स्वत: रोजगारी’ कार्यक्रममा नेपाल सरकारले केही रकम थपिदिने हो भने यसको महत्व अझ बढ्छ र यो कार्यक्रमको स्वमित्व नेपाल सरकारले पनि लिनुपर्छ भन्ने हाम्रो चाहाना हो,’ उपकुलपति प्रा.डा थापाले भने ।
सो कार्यक्रम केयुको प्राज्ञिक औद्योगिक सहकार्य विभागले सञ्चालन गर्नेछ । यो स्कीम अन्तर्गतको रोजगारी बढीमा १ वर्षसम्म मात्रै लागु हुने विभागका संयोजक डा.राम लामाले जानकारी दिए । केयुका सबै विधाबाट स्नातक तहमा सर्वोउत्कृष्ट अंक ल्याएका विद्यार्थीका लागि यो स्कीम लागु हुनेछ । कार्यविधि अनुसार केयु भित्रै र स्वदेशका विभिन्न रोजगार दाता निजी कम्पनीले केयुबाट उत्पादित दक्ष जनशक्तिलाई राख्न सक्नेछन् ।
कुनै पनि निजी कम्पनी तथा संघसंस्थाहरुले केयु र केयुबाट सम्बन्धन प्राप्त भएका कलेज मार्फत स्नातक उत्तीर्ण गरेका विद्यार्थी केयुकै लगानीमा राख्न सक्नेछन् । त्यसका लागि कम्पनीले केयुको प्राज्ञिक औद्योगिक सहकार्य विभागसंग माग गर्नुपर्ने छ । ती कम्पनीले केही निश्चित मापदण्ड भने पुरा गर्नुपर्ने छ । त्यसपछि केयुले आफ्नो स्नातक विद्यार्थीलाई त्यस्ता कम्पनीमा रोजगारीका लागि पठाउनेछ । जसको सम्पूर्ण तलब केयुले लगानी गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij