२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडले १३ औँ बार्षिक साधारण सभा असार ३१ गते गर्ने निर्णय गरेको छ । कम्पनीले असार ८ गते बसेको सञ्चालक समिति बैठकले सभाको मिति र सभा गर्ने स्थान तय गरेको हो । सभा धुम्बाराहीस्थित दरबार ब्याक्वेट, काठमाडौँमा दिउँसो ११ बजेबाट शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित कुल ६ दशमलव ८४ प्रतिशत लाभांशलाई अनुमोदन गर्नेछ, जसमा ६ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश छ ।
बोनस शेयर वितरणपछि जारी पूँजी र चुक्ता पूँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । त्यस्तै सभाले सञ्चालक समितिमा प्रतिनिधित्वमा गर्ने संस्थापक र सर्वसाधारणका तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस कम्पनी तथा अन्य कुनै पनि बैंक, विकास तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij