२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातीत वस्तुमा कर लगाइएको बताए।
बिहीबार अर्थ मन्त्रालयमा नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसान लगायत संगठनका कृषकसँगको सामूहिक भेटका क्रममा उनले यस्तो बताएका हुन्।
अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताए।
जेठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलुप्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो। कृषि लगायत अन्य उत्पादक कृषिकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रश्तुत गरिएको हो, उनले भने यो करको व्यवस्थाले मूलतः आयातीत वस्तुलाई नै महँगो बनाउँछ।
स्थानीय उत्पादनलाई महँगो बनाउँदैन। सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरू पुग्ने गर्छन्। अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नुपर्ने भन्ने बहस भइरहेको छ। त्यसमा आयातको सट्टा मुलुकभित्रै उत्पादन बढाऔं। त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ, उत्पादनकर्ता पनि उत्साहित हुन्छन्।
उनले पहिला कागज देखाएर मात्रै अनुदान लिने गरेकामा अब त्यसरी नहुने र उत्पादनका आधारमै अनुदान दिने बताए। महतले अहिले करको दर लागू नहुँदै सुनियोजित रूपमा केहि संगठित व्यक्तिहरूले मूल्यवृद्धि गराएको बताए। उनले उत्पादनका आधारमा अनुदान दिने, गुरू किसान कार्यक्रम लगायतका विषयलाई बजेटले प्राथमिकतामा राखेको जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij