२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । सरकार र झण्डै दुई वर्षदेखि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच गोप्य सहमति भएको बुझिएको छ ।
सरकारसँग हालै भएको गोप्य वार्तामा उक्त पार्टीका तर्फबाट विप्लव या उनले सुझाएका प्रतिनिधि प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिमण्डलमा जाने सहमतिसमेत भएको सरकारी उच्च स्रोतले बतायो । श्रोतका अनुसार विप्लबले चाहे उनलाई उपप्रधान सहित गृह मंत्री बनाउन ओली तयार छन्।
गत माघ २३ गते दरबारमार्गमा भएको शक्ति प्रदर्शनका बेला नै यो सहमति घोषणा गर्ने तयारी ओलीले गरेको भएपनि अन्तिम समयमा आएर त्यो रद्द गरिएको थियो । सरकारले यो पार्टीलाई आपराधिक समूह ठहर गर्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सरकार र यो पार्टीबीचको सहमतिमा हालै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यागी ओली सरकारमा गएका खानेपानी मन्त्री मणि थापाले सक्रिय भूमिका खेलेको स्रोतले बतायो ।
स्रोतले भन्यो,‘ विप्लवले सरकारमा आउने सहमति गरिसकेका छन् । यसमा मणिचन्द्र थापाको महत्वपूर्ण भूमिका छ ।’ मन्त्री थापाले १८ दिन अघि नख्खु जेलमा पुगेर यो पार्टीका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेटेका थिए ।
वलीले मन्त्री थापालाई स्वागत गरेका थिए । सुदर्शनसँग खिचेको आफ्नो तस्बिर थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । त्यसपछि सरकारबीच यो पार्टीको अनौपचारिक संवाद भइरहेको चर्चा चलेको थियो ।
सरकारसँग वार्ता भइसकेपछि यो पार्टीले आफू सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको वक्तव्य जारी गरेको पाइएको हो ।
शनिबार जारी वक्तव्यमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij