२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ ।
पार्टी कार्यालय पेरिस डाँडामा केही समय अघि स्थायी कमिटी सकिएको हो भने अब केन्द्रीय कमिटी सदस्यसँग नेताहरुले छलफल गर्दैछन् । अनौपचारिक छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
प्रचण्ड-नेपाल समूहले बिहीवार नै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पेरिस डाँडामा भेला हुन निर्देशन दिएको थियो । हिजोको निर्देशन अनुसार शुक्रवार निर्वाचन आयोग जाने तयारी भए पनि तत्कालै निर्वाचन आयोग भने नजाने साहले बताए ।
अदालतमा संसद विघटनको मुद्दा अन्तिम चरणमा पुगेको तथा निर्वाचन आयोगले पनि केही दिनमा पार्टी आधिकारिकता विवाद टुंग्याउने तयारी गरेकाले नागरिकतासहित उपस्थित हुन भनिएको थियो ।
"पछि जे पनि हुन सक्छ भन्दै तयरी स्वरुप नागरिकता संकलन भइरहेको छ। अदालत र निर्वाचन आयोग पनि अन्तिम चरणमा छन् भनेको सुनियो," उनले भने ।
प्रचण्ड-नेपाल समूहले पार्टी आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । आधिकारिकताको विवाद नटुङ्ग्याउँदै निर्वाचनका गतिविधि गरेको भन्दै उक्त समूहले आपत्ति जनाएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij