२०८२ मंसिर ३ गते बुधवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मंगलबार काठमाडौंको थापागाउँमा नाराबाजी गर्ने युवाहरुविरुद्ध मुद्दा चलाइने भएको छ। ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च)लाई सम्बोधन गर्न पुगेका बेला प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाउन ५ दिन म्याद थपिएको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले उनीहरुविरुद्ध मुद्दा अघि बढाउन म्याद थपिएको जानकारी दिए।सोमबार मात्रै संसदबाट विश्वासको मत लिएर सरकार विस्तारको तयारीमा रहेका प्रचण्ड थापागाउँस्थित पार्टी प्यालेसमा पस्नेबित्तिकै नाराबाजी भएको थियो।
प्रहरीले तत्कालै पक्राउ गरेकामध्ये ३० वर्षीय सोम शर्मा, बाग्लुङ, १८ वर्षीय विप्लव खड्का, बझाङ र २३ वर्षीय उद्धव बस्नेत, सोलुखुम्बुविरुद्ध म्याद थपिएको हो।
हलमै रहेका युवाहरुले प्रचण्डविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीलाई आपत् परेको थियो। प्रचण्ड हलमा छिर्नेबित्तिकै ब्याक गर्, मिटर ब्याज ब्याक गर् सहितका नारा उनीहरुले लगाएका थिए।
उनीहरुले ‘गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, मिटर ब्याज ब्याक गर्, युवाहरुलाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाएका थिए।
प्रहरीले मुख नै थुन्दै बाहिर निकाल्दै गर्दा ती युवाले 'आतंककारी प्रचण्ड मुर्दाबाद' को नारासमेत लगाउन भ्याएका थिए।आफूहरुलाई स्वतन्त्र युवा अभियन्ता भनेर प्रचण्डविरुद्ध नारा लगाउने तीनजनालाई प्रहरीले त्यहाँबाट पक्राउ गरेको थियो।
काठमाडौं प्रहरी परिसरका एसपी रिजालका अनुसार तीनजनालाई पक्राउ गरेर बानेश्वर वृत्तमा राखिएको छ। त्यहीँबाट जिल्ला अदालत लगेर म्याद थपिएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij