२०८२ मंसिर ३ गते बुधवार
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दुर्गा प्रसाईंकोे गिरफ्तारीप्रति आपत्ति जनाएका छन् ।
प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाटै प्रसाईंलाई पक्राउ गरेको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानका संयोजक प्रसाईंले हिंसा भड्काउने गरी अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको प्रहरीको दावी छ ।
सुवेदीले विज्ञप्ति मार्फत भनेका छन्, ‘जेनजी आन्दोलनको बलमा निर्माण भएको अन्तरिम सरकारबाट कानुनी राज्यको सम्मान हुन्छ, सुशासन वहाली हुन्छ र कम्तीमा पुराना सरकारका गल्ती कमजोरी दोहोरिन्न भन्ने आम अपेक्षा थियो । यद्यपि जनअपेक्षाविपरीत रातको १२:३० बजे के–के नै बितिहाल्छ भनेजस्तो गरेर सरकारले अभियन्ता दुर्गा प्रसाईँलाई उहाँको निवासबाट मंसिर २ गते पक्राउ गरेको छ, जो दुस्खद मात्र नभएर निन्दनीय छ ।’
सुवेदीले अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण सभा सम्मेलन गर्ने प्रजातान्त्रिक अधिकार सम्मान गर्न गर्दै अभियन्ता प्रसाईंलाई रिहा गर्न माग गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij