Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

शिक्षण अस्पतालमा हेलिकोप्टरबाट बिरामी ल्याउन मिल्ने बनाऊ !

शिक्षण अस्पतालमा हेलिकोप्टरबाट बिरामी ल्याउन मिल्ने बनाऊ !


  • 141
    Shares

    शिक्षण अस्पतालमा हेलिकोप्टरबाट बिरामी ल्याउन मिल्ने बनाऊ !
    images

    काठमाडौं । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल कर्मचारीतन्त्रको रकमी जालझेलले सर्वसाधारणमात्र होइन देशकै प्रमुख अस्पतालसमेत पीडित बन्न पुग्दोरहेछ भन्ने उदाहरण बन्न पुगेको छ । सरकारको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिप्याड सञ्चालन गर्ने अनुमति नदिएको कारण अस्पतालमा बिरामी लिएर आउने हेलिकोप्टर ओर्लन पाएको छैन ।

    अस्पतालभित्र रहेको हेलिप्याडको सतह निरीक्षणका क्रममा सुरक्षा कमजोरी भेटिएको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) को एरोड्रोम सुरक्षा मापदण्ड विभागले हेलिप्याड सञ्चालन गर्न नदिएको हो । फलस्वरूप निजी क्षेत्रका हेलिकोप्टर सञ्चालकहरूले शिक्षण अस्पतालमा अवतरण गर्न तयार नभएको बताउने गरिएको छ । 

    क्यानका अधिकारीहरूले मापदण्ड नपुगेकाले नदिइएको भन्ने र शिक्षण अस्पतालका अधिकारीहरूले क्यानले सहयोग नगरेको गुनासो गर्ने गरेका छन् । दुवै पक्षको  तर्क सुन्दा देशकै महत्त्वपूर्ण अस्पतालजस्तो स्थानमा सेवा अवरुद्ध हुँदा बिरामीलगायतलाई पर्ने मर्कामा खासै चासो राखेको भने देखिँदैन ।

    समस्या गम्भीर भए पनि केही वर्षदेखि नै निरन्तर रहेको छ । तैपनि, क्यान वा अस्पताल पक्षले पत्राचारका अतिरिक्त पूर्वक्रियाशील भएर हेलिकोप्टर अवतरणका लागि विशेष प्रयास गरेका भने देखिएको छैन । क्यानका कर्मचारीबाटै असहयोग भएको हो अस्पताल प्रशासनले उपल्लो निकायलाई गुहार्नु पर्थ्यो ।  अस्पताल प्रशासनले त हेलिप्याड क्षेत्रसमेत अस्तव्यस्त हुन दिएछ ।

    यस्तै, अस्पतालमा हेलिकोप्टर अवतरणका लागि गम्भीर सुरक्षा जोखिम छ भने त्यसलाई हटाउन क्यानले पनि पहल गर्नुपर्थ्यो । हेलिप्याडको सतहस्तरका कारण अवतरण गर्न नमिल्ने भएको हो भने क्यानले पनि सरकारको सम्बन्धित निकायसँग सहयोग र समन्वय गर्न अग्रसरता लिनसक्थ्यो ।

    तर क्यान र अस्पतालका अधिकारीहरू औपचारिकता पूरा गर्नेभन्दा अगाडि बढेको देखिएन । पक्कै पनि सुरक्षा मापदण्डसँग कुनै पनि अवस्थामा सम्झौता गर्नु हुँदैन । यस्तै, शिक्षण अस्पतालमा आकस्मिक अवस्थामा दुर्गमबाट ल्याइने सिकिस्त बिरामीका लागि यसरी ढोकै बन्द गरेर बस्नु पनि उचित होइन ।

    शिक्षण अस्पताल र क्यानको नागरिक उड्डयन प्राधिकरण, स्वास्थ्य र शिक्षा मन्त्रालयलगायतका सम्बन्धित निकायहरूले अग्रसरता  देखाएर एरोड्रोम सुरक्षा मापदण्ड विभाग तथा शिक्षण अस्पतालका अधकारीहरूलाई राखेर समस्या समाधान गर्नुपर्छ । हेलिकोप्टर अवतरण गराउन आवश्यक भए भौतिक सुविधा थप पनि गर्नुपर्छ ।

    शिक्षण अस्पतालमा हेलिकोप्टरबाट बिरामी ल्याउने सुविधा हुनैपर्छ । यस्तै, बाक्लो बस्तीको बीचमा हेलिकोप्टर अवतरण उडान गर्दा पालना गर्नुपर्ने सुरक्षा मापदण्डमा पनि सम्झौता गरिनु हुँदैन । यी दुवै यथार्थहरूलाई दृष्टिगत गरी क्यान र त्रिवि शिक्षण अस्पतालका अधिकारीहरूले संवाद र समन्वय गरून् । अन्यथा, यसको दोष दुवै पक्षका अधिकारीहरूमाथि लाग्नेछ ।   

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १४:५८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij