२०८२ मंसिर ४ गते बिहिवार
नेकपा माओवादी केन्द्रले सबै जिल्ला र प्रदेशका इञ्चार्ज÷अध्यक्षहरुलाई परिपत्र जारी गरेको छ । माओवादीले आज(सोमबार) जनयुद्धका क्रममा सहादत गरेका सहिदहरुको नामावलीमा देखिएको त्रुटी सच्याउन र विकास निर्माण योजना पेश गर्न परिपत्र गरेको हो ।
जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको नामावली राजपत्रमा प्रकाशित भइसकेको कुरालाई जनता र कार्यकर्ताको तल्लो पंक्तिसम्म जानकारी गराउन र स्वामित्व लिन विशेष अग्रसरता लिन भनिएको छ ।
त्यस्तै, सहिदहरुको नामावलीमा भएको त्रुटीलाई जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइ सच्याउनसमेत निर्देशन दिइएको छ । परिपत्रमा भनिएको छ, ‘राजपत्रमा प्रकाशित नामहरु दोहोारिएको भए उक्त नाम हटाउन जिल्ला प्रशासन कार्यालय निवेदन दिई सोको जानकारी पार्टी केन्द्रीय कार्यालयमा गराउने ।’
र, राजपत्रमा छुटेका नामलाई फेरि प्रकाशित गर्ने कार्यसूचि रहेकाले नाम छुटेका सहिदहरुको नाम प्रक्रिया पुर्याएर समावेश गर्न पहल गर्न समेत निर्देशन दिएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्नैपर्ने राष्ट्रियस्तरका योजनाहरु भए तीनदिन भित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउनसमेत उर्दी जारी गरिएको छ । उक्त योजना पठाउँदा आफ्ना पार्टीका उम्मेदवार विजयी भएका स्थानीय तहलाई विशेष ध्यान दिनसमेत निर्देशन दिइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij